सप्तरी/ सप्तरीमा जनप्रतिनिधिले भारतीय नागरिकलाई नेपाली नागरिकताका लागि सिफारिसदेखि सर्जमिनसम्म उपलब्ध गराइदिने गरेको भेटिएको छ । नागरिकता बनाइदिन आमा बनेकी माइजू र भारतीय मूलका उनका भान्जालाई प्रहरीले नियन्त्रणमा लिएपछि यस्तो तथ्य बाहिरिएको हो ।
पक्राउ पर्नेमा डाक्नेश्वरी नगरपालिका–३ की फुलियादेवी मुखिया र भारत विहार राज्यको मधुबनी जिल्लास्थित फुलपरास निवासी धीरज मुखिया छन् । केही वर्षदेखि मामाघरमा बस्दै आएका धीरजलाई नागरिकता बनाइदिन गत शुक्रबार फुलियादेवीले वडा कार्यालयको सिफारिस र सर्जमिनसहित इलाका प्रशासन कार्यालय बोदेबर्साइन पुगेकी थिइन् ।
नागरिकता प्रक्रिया अघि बढ्नै लाग्दा शंका लागेर सोधपुछपछि दुवैजनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
वडाध्यक्ष भागेश्वर यादवले धीरज भारतीय नागरिक रहेको भन्ने आफूलाई जानकारी नरहेकाले सिफारिस र सर्जमिन गरिदिएको बताए । भारतीय मूलका युवकलाई नागरिकता बनाइदिन आमा बनेकी माइजू र उनका भान्जामाथि अनुसन्धान गर्न सात दिनको म्याद थप गरिएको छ ।