किन सम्झने पृथ्वीनारायण शाहलाई ?

काठमाडौं/ पृथ्वीनारायणको जन्मदिन अर्थात् २७ पुसको छेको पारेर हरेक वर्ष पृथ्वीनारायण शाहबारे चर्चा हुने गर्छ । यस दिनलाई राष्ट्रिय एकता दिवसका रूपमा नेपाली जनताले मनाउँदै आएका छन् । तर सरकारले पृथ्वी जयन्तीका दिन सार्वजनिक बिदा दिने परम्परालाई यसपटकदेखि निरन्तरता दिनेछ या छैन अहिले नै एकिन भएको छैन । 

नेपाली सेनाले समेत पृथ्वी जयन्तीलाई भव्यताका साथ मनाउने गरेको छ । पृथ्वीनारायणले नै हो आधुनिक नेपालमा सैनिक संरचना खडा गरेको । उपत्यका जितेपछि यिनैले भक्तपुरको चन्द्रसूर्य अंकित झन्डालाई राष्ट्रिय झन्डा बनाए । देशको नाम गोर्खा राखेनन् नेपाल राखे अनि भाषालाई खस भनेनन् नेपाली भने । कुमारीको पूजा गरेर धार्मिक सहिष्णुताको उच्च विचार प्रदर्शन गरे । सिंगो जीवन नेपाल एकीकरणको अभियानमा समर्पित गर्ने यी राजामात्र थिएनन् एक कुशल युद्ध नायक समेत थिए । गुरिल्ला युद्धका सर्जक पृथ्वीनारायण नभएका भए आज नेपाल भन्ने देश विश्व मानचित्रमा सायदै हुने थियो ।

पृथ्वी जयन्तीलाई राज्यले किन औपचारिक रूपमा मनाउन छोड्यो ? किन सार्वजनिक बिदा कटौती गरियो ? यसमा विशेषतः क्रिश्चिनरी मिसन र नश्लवादी चिन्तनले काम गरेको बुझ्न गाह्रो छैन । गोर्खालाई काठमाडौं उपत्यकामा विजयी हुन नदिने उद्देश्यले पादरीहरूले कम्पनी सरकार र मल्ल राजासँग साँठगाँठ गरेका छन् भन्ने आशंकामा पृथ्वीनारायण उनीहरूप्रति निर्मम बनेको इसाई मिसिनरीले अझै लेखिरहेका छन् । प्राज्ञिक कर्ममा संलग्न अधिकांश स्वदेशी विदेशी विद्वानले पनि यस्तै आशय राख्ने गरेका छन् । पृथ्वीनारायणका आलोचकले सिन्धुलीगढीको युद्धबारे उल्लेख नै नगरी पादरीलाई उनीहरूका अनुयायीसहित नेपालबाट निकालिएको प्रसंग बारम्बार दोहोर्‍याउने गरेका छन् । पृथ्वीनारायणका हिन्दुवादी समर्थकले भने सिन्धुलीगढी युद्धअघि पादरीसँग पृथ्वीनारायणको न्यानो सम्बन्धबारे मौनता साँध्ने गरेका छन् । यसबारे चर्चै नगरी इसाई अतिक्रमणबाट नेपाली धर्म संस्कृतिको जगेर्ना गर्न प्रतिबद्ध राजाका रूपमा उनलाई प्रस्तुत गर्ने गरेका छन् । तर उपलब्ध तथ्यले यस्ता यावत अडकलबाजी र दाबी गलत छन् भन्ने देखाउँछ ।

कम्पनी फौजलाई काठमाडौं ल्याउन पादरीहरूले समन्वय गरेको साँचो हो । सरकारका तत्कालीन दस्तावेज पढ्दा फगत आशंकाकै भरमा पृथ्वीनारायण उनीहरूप्रति कठोर बनेका थिएनन् भन्ने स्पष्ट हुन्छ । क्याप्टेन किनलकको नेतृत्वमा लिइएको सैन्य अग्रसरताको राजनीतिक लगाम सम्हालेका कम्पनी सरकारका पटना प्रमुख थोमस रेम्बोल्डले सन १९६७ डिसेम्बर १९ र सन १९६८ जनवरी ३ मा आफूभन्दा माथिको ‘सेलेक्ट कमिटी’ लाई लेखेको पत्रमा पादरीहरूको संलग्नताबारे प्रकाश पारिएको छ । पत्रमा भनिएको छ— ‘नेपालका राजा –जयप्रकाश) हतास अवस्थामा छन्, उनी अक्टोवरको आरम्भभन्दा बढी टिक्न सक्दैनन् भनी फकिरहरू (गोसाई) र त्यहाँ (काठमाडौं) तथा बेतियामा रहेका जजुइटसहरूले पटक पटक सन्देश पठाएका छन् । तिनमा हामीले सैन्य सहयोग चाँडै पठाउनुपर्छ भनिएको थियो । सिन्धुलीगढीको युद्धपछि पृथ्वीनारायणले मिसनरीप्रति कडा रवैया अपनाए । गुप्तचरीको सम्भावना रोक्न मिसनरीले भारततिर गर्ने पत्राचारमाथि प्रतिबन्ध लगाए । पृथ्वीनारायणलाई फकाउन पादरीहरू नलागेका होइनन् । त्यतिबेला काठमाडौंमा रहेका पादरी माइकल एन्जेलाले कीर्तिपुरमा बसिरहेका पृथ्वीनारायणसँग भेट गरे । फकाउन एउटा दूरबिन पनि टक्र्याए तर पृथ्वीनारायण शाह पग्लिएनन् । मिसनरीलाई अविश्वास गरिरहे । फेरि आफ्नो शस्त्रगारमा बन्दुकदेखि तोपसम्म भित्र्याइसकेका पृथ्वीनारायणका लागि दूरबिन नौलो पनि थिएन । अन्ततः इसाई धर्म अँगालेका करिब ६० जना काठमाडौंका रैथानेलाई पादरीसँगै देश निकाला गरियो । उनीहरू बेतियातिर लागे । पादरीझैँ कम्पनी सरकारका गुप्तचर बनेका हिन्दु गोसाई व्यापारीलाई पपिन देश निकाला गरियो । यस्तै काममा आशंका गरिएका कश्मिरी मुसलमानलाई चाहिँ केही प्रतिबन्ध लगाएर काठमाडौंमै रहन दिइयो । त्यतिबेला इसाई मात्र होइनन् हिन्दू पनि देश निकालामा परेका थिए । यसबाट घटना धार्मिक उद्देश्यबाट नभई विशुद्ध राजनीतिक उद्देश्यबाट अभिप्रेरित थियो भन्ने स्पष्ट हुन्छ ।

पृथ्वीनारायण शाह आजको नेपालको एकीकरणकर्ता हुन् । उनले आफ्नो जीवनकालमा नेपाललाई पश्चिममा महाकाली र पूर्वमा मेची नदीसम्म विस्तार गरेका थिए । पृथ्वीनारायण शाह यदि नभइदिएका भए आजको नेपाल सम्भव थिएन । इतिहासमा नेपाल कहिले कसैको पराधीन भएन । अंग्रेजहरूले नेपाललाई अधिनस्थ गर्न खोज्दा पृथ्वीनारायण शाहले नै उनीहरूलाई असफल बनाइदिएका थिए । शाहकै कारण देशले स्वतन्त्रता दिवस मनाउनु परेन । तर नेपाललाई एकीकरण गर्ने यी महान् सपूतलाई सम्मान गर्दै राष्ट्रले एकता दिवस मनाउँदै आएको थियो । गणतन्त्र आएपछि पृथ्वीनारायण शाहलाई अवमूल्यन गर्दै राष्ट्रिय एकता दिवस एवं उनको जन्मजयन्ती समेत मनाउन छोडियो । अहिले देशमा लादिएको संघीयताले पृथ्वीनारायणले एकीकरण गरेको तराई भूभाग अलगाउवादी आप्रवासी भारतीयहरूले टुक्र्याउन खोज्दैछन् । एकीकृत समृद्ध र अखण्ड नेपालका अभिष्टता पाल्ने पृथ्वीनारायण शाहलाई यतिबेला देश र जनताले झल्झली सम्झिरहेका छन् । यतिबेला नेपालको राष्ट्रियता गम्भीर संकटको अवस्थामा गुज्रिरहेको प्रस्ट हुन्छ ।

बहुसंख्यक मानिसहरू उनको योगदानको प्रशंसा गर्छन् र उनलाई राष्ट्रले नसम्झिएकोमा तीव्र आक्रोश व्यक्त गर्छन् । पुस २७ लाई राष्ट्रिय एकता दिवसका रूपमा मनाउँदै सार्वजनिक बिदा दिनुपर्ने माग पनि जनस्तरबाट भइरहेको छ । उनले गरेको नेपाल एकीकरणको कार्यलाई अवमूल्यन गर्न नहुने आवाज पनि त्यत्तिकै उठिरहेको छ ।
पृथ्वीनारायण शाह पहाडी राज्य गोरखाका राजा भएर पनि उनले नेपाल राष्ट्र बनाउन गरेको महान योगदान नै सबै नेपालीले उनलाई सम्झनुपर्ने कारण हो । पुस २७ गतेका दिन उनी आजभन्दा २०० वर्षअघि राजा नरभूपाल शाह र रानी कौशल्यावतीको ज्येष्ठ सुपुत्रका रूपमा गोरखा दरबारमा जन्मिएका थिए । वि.सं. १७६८ अघिसम्म नेपाल ‘नेपाल राष्ट्र’ थिएन । यसै मितिदेखि नेपालको इतिहासको आधुनिक काल मानिन्छ । पृथ्वीनारायण शाहले गुरिल्ला युद्धद्वारा नेपाल एकीकरणको आरम्भ गरे । यस अभियानको नेतृत्व उनले गरे । बिसे नगर्चीदेखि कालु पाँडे समेतले उनको एकीकरण अभियाननलाई साथ दिए ।

एकीकरण अभियान उनले एक्लै गरेका होइनन्, उनलाई जनताले पनि साथ दिएका थिए । भलै उनले नेपाल एकीकरणको नाम दिएर युद्ध लडेनन् राज्य विस्तार गरे । त्यही राज्य विस्तार अभियान नै नेपाल एकीकरणको ऐतिहासिक अभियान थियो । आज हामीले टेकेको धर्ती उनकै नेतृत्वमा भएको जनबाहुबलको परिणाम हो ।
पृथ्वीनारायण शाहले बाइसे चौबीसे राज्य, पूर्वको किराँत राज्य र उपत्यकाका तीन नेवा राज्यलाई विस्थापित गरी एउटै नेपाल राज्य बनाएका हुन् । कतिपय राजनीतिक नेता र बुद्धिजीवी पृथ्वीनारायण एक विस्तारवादी शासक भएको आरोप लगाउँछन् ।

किराँत राज्यसँग, उपत्यकाका मल्ल राज्यहरूसँग, लमजुङसँग पृथ्वीनारायणले गरेको सम्झौता उनले पूरा नगरेको भनेर उनलाई धोकेबाजको पगरी गुथाउने स्वघोषित बुद्धिजीवीहरू पनि देखिँदैछन् । सर्वमान्य कुरा हो युद्ध र प्रेममा जे पनि जायज हुन्छ । यसकारण पृथ्वीनारायण शाहले विल्कुलै ठीक गरेछन् । उनले अधिनस्थ गरेका राज्यहरूलाई फेरि स्वअस्तित्वमा आउन दिएनन् र टुक्रा टुक्रा भूभागलाई मिलाएर भावी सन्ततिलाई सिंगो नेपाल दिए ।

विश्वमा राष्ट्र निर्माताहरूलाई अघोर नै सम्मान गरेको पाइन्छ । छिमेकी मुलुक भारतमा महात्मा गान्धीलाई, चीनमा सनयात सेनलाई राष्ट्रपिता मानिन्छ । अमेरिका जर्ज वाशिंगटन, थोमस जेफरशन, बेन्जामिन फ्रेंकलिन, जोन एडम्स, जेम्स मेडिसन, अलेक जेन्डा हेमिल्टिन, अमेरिकाका फाउन्डिङ फादरक रूपमा चिनिन्छन् । उनीहरूले १३ वटा राज्यलाई मिलाएर युनाइटेड स्टेट्स अफ अमेरिकाको स्थापना गरेका थिए । इटलीका मिनटर इमानुअल द्वितीयलाई फादर अफ फादर ल्यान्ड भनिन्छ । गैरीवाल्डी, मेजिनी, क्यामिना वेल्सो, काउन्ट कैबुरलाई संस्थापक पिता मानिन्छ । टर्कीका मुस्तफा कमाल अर्नातुकलाई पनि राष्ट्रपिताकै दर्ज दिइएको छ । लि क्यान युलाई सिंगापुरका राष्ट्रपिता मानिन्छ । फ्रान्स र जापानको उपनिवेशबाट भियतनामलाई मुक्त गराउने होची मिन्हलाई भियतनामी जनताले कति आदर गर्छन् ? पाकिस्तानका मोहम्मद अलि जिन्नालाई कवाइद आजम अर्थात् महान नेता भनेर सम्मान गरिन्छ । टुँकु अब्दुल रहमानलाई विकासवादी नेताका रूपमा चिनिएका महाथिरले समेत सम्मान गर्छन् । तर आज नेपालमा भने जाति, धर्म, वर्ण र क्षेत्रका आधारमा विभाजनको रेखा कोर्न खोजिँदैछ । रुसका पिटर, जर्मनीका विस्मार्क, बेलायतका एगवर्ड, फ्रान्सका नेपोलियन, जापानका ओडानोगुन एजा, टोकुगावा र इयसो, इटलीका क्यामिलो क्याभोर जिसेफ गरिवाल्डी, ग्रिसका अलेक जेन्डर महानकै जत्तिको योगदान छ नेपाल एकीकरणमा पृथ्वीनारायण शाहको ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज