मैले देखेको दोस्रो विश्व आश्चर्यः पिसाको ढल्केको टावर

इटलीको पिसाको ढल्केको टावर हेर्ने इच्छा मलाई जब त्यो पनि एक विश्व आश्र्चय हो भन्ने थाहा पाउने बित्तिकै जागेको थियो । रोमको कोलोस्सियम हेरिसकेपछि ढल्केको टावर कहिले हेर्न पाइएला भन्ने कौतुहल जागिनै रहेको थियो । मेरो इटलीमा भएको उच्च अध्ययनको क्रममा प्रथम सेमेस्टरकै विदाको दौरानमा हाम्रो स्कुल अफ पब्लिक एडमिनिट्रेसनले हामी विदेशी विद्यार्थीहरुको लागि पिसा र भेनेसिया डुलाउन लग्दैछ भन्ने थाहा पाएपछि मेरो खुसीको सीमा नै रहेन । सन् १९८६ को फेब्रुअरी महिनामा गएर पिसाको ढल्केको टावर हेर्ने सौभाग्य मलाई मिलेको थियो ।

पिसाको ढल्केको टावरलाई अंग्रेजीमा Leaning Tower of Pisa र इटालियन भाषामा तोर्रे पोन्देन्ते दि पिसा भनिन्छ । यो सामान्यतया घण्टाघर हो । यो पिसाको चर्च क्याथेड्रलको पछाडिपट्टि ठडिएको छ । ३ मिटर गहिराइको जग खनी ठड्याइएको हुँदा समय बित्दै जाँदा यसले ढल्कने क्रम लियो तर भत्केन । यसै कारण यो विश्वको आश्चर्यमध्ये एक गनिन्छ । यसैकारण पछिल्ला शताब्दिहरुमा यसलाई भत्कनबाट जोगाउन विभिन्न प्रविधिहरु अपनाइएका छन् । यो घण्टाघरको उचाइ ५५ दशमलव ८६ मिटर रहेको छ । यसको चौडाई २ दशमलव ४४ मिटर रहेको छ । अनि यस घण्टाघरको तौल १४५०० मेट्रिक टन रहेको छ । टावरको टुप्पासम्म पुग्न २९६ खुडकिला उक्लनु पर्दछ । सन् १९९० देखि २००१ सम्म भएको जिर्णोध्दारपश्चात् यसको ढल्काई ५ दशमलव ५ डिग्री रहेको छ । पहिले भने यसको ढल्काई ३ दशमलव ९९ डिग्री मात्रै थियो । एकथरिले यसको डिजाइन १२ औं शताब्दिका इटलीका प्रसिद्ध कालिगढहरु गुलिएल्मो र वोनान्नो पिसानो थिए भन्छन् भने अर्काथरिले उनीहरुले टावरको पित्तलको प्रवेशद्वार मात्रै बनाएका हुन्, खास टावरको डिजाइन गर्ने दिओतिसाल्भी हुन् भन्छन् ।

यो टावर ३ चरणमा गरी निर्माण गरिएको थियो र पुरै निर्माण कार्य सम्पन्न गर्न १९९ वर्ष लागेको थियो । पहिलो तलाको निर्माण कार्यको शुरुवात अगष्ट १४, ११७३ मा गरिएको थियो । सन् ११७८ मा जब टावरको दोस्रो तला निर्माण कार्यको आरम्भ भयो तब यसको ढल्कनै क्रम पनि सुरु भयो । तब एक शताब्दीसम्म यसको निर्माण कार्य रोकियो । त्यसको मुख्य कारण त्यतिखेर पिसाको गणतन्त्रले गेनोआ, लुक्का र फ्लोरेन्सँगको युध्दमा संलग्न हुनु परेकोले थियो । पछि सन् ११९८ मा गएर यस घण्टाघरमा घडी झुण्ड्याउने कार्य गरियो । सन् १२७२ मा गएर पुनःनिर्माण कार्यलाई निरन्तरता दिइयो । यस निर्माण कार्यको नेतृत्व कालिगढ जोभान्नी दि सिमोनेले गरेका थिए । तर १२८४ मा पुनः गेनोआसँगको मेलोरियाको युद्धमा पिसाको हार भएपछि निर्माण कार्य रोकियो । यस टावरको सातौं तलाको निर्माण कार्य सन् १३१९ मा सम्पन्न भए तापनि घडी झुण्ड्याउने ठाउँको निर्माण भने सन् १३७२ मा नै गरिएको थियो । झुण्ड्याएका सातवटा घण्टामध्ये सबैभन्दा ठूलो घण्टा सन् १६५५ मा जडान गरिएको थियो । ढल्केको टावरलाई भत्कनबाट जोगाउने क्रममा सालवसाली जिर्णोध्दार गर्ने कार्य भइ नै रहन्छ । जसरी यसको निर्माण गर्न १९९ वर्ष लाग्यो त्यसै गरी यो टावर बनाउने व्यक्तिहरु पनि समयकालअनुसार धेरै रहेका छन् जस्मा गेरारदो, दिओतिसाल्भी, जोभान्नी दि सिमोने र जोभान्नी पिसानो मुख्य रहेका छन् ।

ढल्केको कारण टावर कुनै पनि बेला भत्कन सक्ने देखी यस टावरलाई सिधा बनाउन गरिएका हालसम्मका प्रयासहरु कुनै पनि सफल हुन सकेका छैनन् । यस टावरलाई सन् १९८७ मा आएरमात्रै युनेस्कोले विश्व सम्पदा सूचीमा पारेको थियो । पछिल्लो पटक सन् १९९० को जनवरीदेखि यो टावर बन्द गरिएको थियो । गरुंगो भएको कारण टावर भत्कनसक्ने देखी टावरमा राखिएका घण्टाहरु हटाउने अनि तेस्रो तलादेखिका माथिका भित्तालाई तारले बेर्ने कार्य पनि गरिएको थियो । टावर भत्केर क्षति पुर्‍याउला भनी टावरसम्म पुग्ने छेउछाउका घरहरु खाली गरिएका छन् भने जगको सतहबाट ३८ क्युविक मिटर माटो निकालिएको थियो । यसप्रकार सम्भव भएसम्मको जिर्णोद्धारका प्रयाशपश्चात् डिसेम्वर १५, २००१ देखि पुनः पर्यटकहरुलाई यो टावर चढ्ने अनुमति दिने गरिएको छ । पछिल्लो पटकको जिर्णोध्दारपश्चात् अब अर्को ३०० वर्षसम्म यो टावर नभत्कने अनुमान गरिएको छ । गुरुत्वाकर्षण सिध्दान्तका प्रतिपादक, गणितज्ञ तथा दर्शनशास्त्री ग्यालेलियोले यस टावरको टुप्पाबाट विभिन्न तौलका वस्तु खसाली जति धेरै तौल खसालेको वस्तुको हुन्छ त्यति नै चाँडो यो पृथ्वीको सतहमा आइपुग्छ भनी प्रमाणित गरेका थिए ।

दिनहुँ विश्वका हजारौं पर्यटकहरु यो टावर चढ्छन् र इँटैइँटाले बनाएको फ्लोरेन्सको मध्यकालिन सुन्दर सहरको अवलोकन गर्न रुचाउँछन् । पहिलोपटक सन् १९८६ मा मैले यो टावर चढ्ने मौका पाएको थिएँ भने दोस्रो पटक सन् २०१४ मा मित्र कृष्णराज दुलालका साथ दोस्रोपटक पिसा पुगी यस टावरको पुनः अवलोकन गरेको थिएँ ।

(यो लेख ढकालको प्रकाशोन्मुख कृति विश्व आश्चार्य, विश्व सम्पदा र विश्व महत्वपूर्ण स्थल र म बाट साभार गरिएको हो । -सम्पादक) 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज