सभामुख छान्न नसक्दा सुदूरपश्चिममा प्रदेश सरकार पनि संकटमा

धनगढी/ नागरिक उन्मुक्ति पार्टी (नाउपा) तटस्थ बस्दा सुदूरपश्चिम प्रदेशमा सभामुख निर्वाचन अन्योलपूर्ण बनेको छ । सुदूरपश्चिम प्रदेशमा नाउपाका ७ सदस्य रहेका छन् । उनीहरुले सभामुख चयनको दोस्रो पटकको निर्वाचनमा तठस्थ बसेपछि शनिवार पनि सुदूरपश्चिम प्रदेशले सभामुख पाउन सकेन।

सुदूरपश्चिममा सत्ता गठबन्धनबाट माओवादीका भीमबहादुर भण्डारी र कांग्रेसका मानबहादुर रावल सभामुखका उम्मेदवार छन् । बिहीबार भएको निर्वाचनमा कुनै पनि उम्मेदवारको पक्षमा बहुमत नपुगेपछि शनिबार दोस्रो पटक निर्वाचन भएको थियो । सभामुख निर्वाचित हुन २७ मत आवश्यक पर्छ ।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा कांग्रेसका १९, माओवादीका ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७, एकीकृत समाजवादीका ४ राप्रपाका १ र १ स्वतन्त्र सांसद छन् । गठबन्धन दलबीच मुख्यमन्त्री एमाले, सभामुख माओवादी र उपसभामुख नाउपाले लिने सहमति छ ।

शनिबार भएको पुनः मतदानमा गठबन्धनका उम्मेदवार भण्डारीले २२ मत मात्र प्राप्त गरे । नाउपाका प्रमुख सचेतक चौधरीले सहमतिविपरीत मन्त्री नियुक्त गरिएकाले सभामुख चयनमा तटस्थ बसेको बताए ।

नाउपाको तठस्थ बसेमा सुदूरपश्चिम सरकार पनि संकटमा पर्ने देखिन्छ । सुदूरपश्चिममा एमाले, माओवादी, नाउपा र राप्रपाको समर्थनमा एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावल मुख्यमन्त्री नियुक्त भएका छन् । नाउपाले रावललाई विश्वासको मत नदिए उनी पदमुक्त हुनेछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज