काठमाडौं/ आज माघे सङ्क्रान्ति । मुलुकका विभिन्न भागमा आ आफनै तरिकाले माघे सङ्क्रान्ति मनाउने गरिन्छ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर संक्रान्ति भनिएको हो ।
माघ १ गतेदेखि उत्तरायण सुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण सरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्यदायक मानिन्छ । यसैले आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, बागमती, इन्द्रावती, त्रिवेणी, रिडीलगायतका स्थानमा माघ स्नान गर्ने भक्तजनको भीड लाग्छ । यी ठाउँमा आज विशेष मेलासमेत लाग्ने गर्छ ।
खासगरी थारु समुदायले माघ १ गतेलाई विशेष पर्वको रुपमा मनाउने गर्छन । माघ १ गते देश विदेशमा रहेका नेपालीहरुले मकर सङ्क्रान्ति धुमधामका साथ मनाउने गर्छन् । माघे सङ्क्रान्ति तरुल, सखरखण्ड, चाकु, खिचडी र कन्दमूल खाएर मनाइने पर्व हो । यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा ताता परिकार खाने गरिएको हो । यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसोको समयमा यसले शरिरलाई फाइदा पुग्ने विश्वास गरिन्छ ।