रास्वपामा अन्योल, अल्टिमेटम सकियो, निर्णय भएन

काठमाडौँ / सत्ता गठबन्धन दलहरुवीच भएको पूर्व सहमति बमोजिम गृह मन्त्रालय नपाए सरकार छाड्ने चेतावनी दिँदै आएको राष्ट्रिय स्वतन्त्र पार्टीको अल्टिमेटम शनिबार सकिएको छ ।

रास्वपाको बिहिबार बसेको बैठकले पूर्वसहमति कायम गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई र्दुइदिनको अल्टिमेटम दिएको थियो । प्रधानमन्त्री दाहालले गृह मन्त्रालय आफैं राखेर अर्को ‘राम्रो’ मन्त्रालय दिने प्रस्ताव गरेपछि रास्वपाले आकस्मिक बैठक राखेको थियो । तर, बैठकले सरकारमा बस्ने कि बाहिरिने भन्ने निर्णय लिन सकेन । राति अबेरसम्म बसेको बैठक पनि बिनानिष्कर्ष टुंगिएको छ ।

रास्वपा सभापति रवि लामिछानेसँग शनिबार अपराह्न भएको छलफलमा प्रधानमन्त्री दाहालले माओवादीसँग भएको अर्को मन्त्रालय लिन आग्रह गरेका थिए । बालुवाटार स्रोतका अनुसार आफू मन्त्री नहुने भएपछि लामिछाने अर्को मन्त्रालय लिनेबारे सकारात्मक देखिएका थिए ।

संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले सरकारमा बस्ने कि नबस्नेबारे आइतबार निर्णय गरिने बताएका छन् । ‘गृहको विवाद हामी सरकारमा रहने कि नरहने भन्ने कुरामा मात्रै सीमित रहेन, राष्ट्रपति चुनावसँग जोडियो,’ श्रेष्ठले भने, ‘सरकारमा रहेर राम्रो डेलिभरी दिने भन्ने कुरा आएपछि अरू जिम्मेवारी लिएर भए पनि अहिलेको परिस्थितिमा सरकारमा रहनुपर्छ । गृह मन्त्रालय व्यक्तिले हैन, पार्टीले पाएको हो भन्नेमा एकमत भयौं ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज