आरोप पुष्टि गर्न लामिछानेलाई मिडिया सोसाइटीको चुनौती

काठमाडौँ / राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आइतबार मिडिया र मिडियाकर्मीप्रति आधारहीन, पूर्वाग्रही र मनगढन्ते आरोप लगाउँदै दिएका धम्कीपूर्ण अभिव्यक्ति प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको गम्भीर घात भएको बताउँदै नेपाल मिडिया सोसाइटीले अभिव्यक्ति तत्काल सच्याउन माग गरेको छ ।

सोसाइटीका अध्यक्ष शुभशंकर कँडेलले सोमबार विज्ञप्ति जारी गर्दै लामिछानेलाई आफ्ना अभिव्यक्ति तत्काल सच्याउन, गालीगलौज फिर्ता लिन र लगाइएका आरोप पुष्टि गर्न चुनौती दिएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘नेपाल मिडिया सोसाइटी लामिछाने र उनको दललाई प्रश्न गर्न चाहन्छ, नेपालको प्रचलित संविधान, ऐन, कानुन र नेपालको न्यायपालिकामाथि बर्बराहट गर्ने अधिकार कहाँबाट प्राप्त भयो ?’ विज्ञप्तिमा भनिएको छ, ‘तसर्थ समयमै आफ्नो गल्ती सच्याउन र आमजनता तथा मिडियाको संवैधानिक अधिकारमाथि चुनौती दिने गल्ती नदोहोर्‍याउन चेतावनी दिन चाहन्छौं ।’

लामिछानेले विद्यमान संविधान, ऐन र कानुनलाई हातमा लिएर कथित भीडको सहारामा मिडियालाई आफैं कारबाही गर्ने भनी दिएको चेतावनीबाट नेपालका सञ्चार प्रतिष्ठान र सञ्चारकर्मीहरू असुरक्षित हुन सक्ने स्थिति देखापरेको विज्ञप्तिमा उल्लेख छ ।

सोसाइटीले ‘सञ्चार प्रतिष्ठान र सञ्चारकर्मीहरूको नामै लिएर सार्वजनिक रूपमा धम्की दिएको घटनाप्रति सम्बन्धित पक्ष र सरकारको समेत गम्भीर ध्यानाकर्षण गराउँदै लामिछानेका अभिव्यक्तिबाट सिर्जित हुन सक्ने कुनै अप्रिय घटनाको स्वयं लामिछाने र उनको दल जिम्मेवार हुनुपर्ने स्पष्ट गरेको छ । ‘

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज