काठमाडौं/ सरकारले आन्दोलनरत यातायात मजदूरलाई वार्ताका लागि बोलाएको छ । सरकारको बोलावट पछि आज विहान भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा मजदूर प्रतिनिधि र सरकारी पक्षवीच वार्ता हुने बताइएको छ ।
ट्राफिक जरिवानालगायत विषयलाई लिएर यातायात मजदूरले सोमबार काठमाडौंमा सडक अवरुद्ध गर्दै प्रर्दशन गरेका थिए । प्रदर्शनका क्रममा उनीहरूले प्रहरीका दुई भ्यानमा समेत आगजनी गरेका थिए भने माछापोखरी चोकमा रहेको प्रहरीको अस्थायी पोस्ट भत्काएका थिए ।
आक्रोशित यातायात मजदूरले सोमबार साँझ नयाँ बसपार्कमा सञ्चालित ल्होत्से मलमा समेत तोडफोड गरेर लुटपाट मच्चाएका छन् ।
त्यसक्रममा प्रहरी र आन्दोलनकारीबीच झडप समेत भएको थियो । झपडमा केही प्रहरी र आन्दोलनकारी घाइते भएका छन् । केही प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको थियो । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघ र अखिल नेपाल यातायात मजदुर संघका अध्यक्षले विज्ञप्ति जारी गर्दै माग पूरा नभएसम्म आजदेखि काठमाडौं उपत्यकाका सम्पूर्ण सवारीसाधन बन्द गर्ने बताएका छन् ।