काठमाडौं/ नयाँ बसपार्कस्थित लोत्से मलमा फागुन १ गते भएको तोडफोड लुटपाट र प्रहरीको सवारी साधन आगजानीमा संलग्न भएको आरोपमा प्रहरीले शंकास्पद ४० जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ ।
यातयात व्यवसायीको उक्त दिनको विरोध प्रर्दशन अनियन्त्रित बन्दा प्रहरीका दुईवटा भ्यान जलाइएको थियो भने लोत्से मल तोडफोड गरी मोबाइल पसलमा लुटपाटमा भएको थियो । आन्दोलनकारीले बालाजु चोकको अस्थायी प्रहरी पोष्टमा समेत आगो लगाएका थिए ।
आन्दोलनकारीले लोत्से मलमा अर्जुन चालिसेले सञ्चालन गरेको एसिडिसी मोबाइल प्रालि, डायमन्ड मोबाइल प्रालि र गजेन्द्र न्यौपानेले सञ्चालन गरेको काठमाडौं सुपर मार्केट प्रालिमा तोडफोड गरी मोबाइल, चार्जर, रिचार्ज, एयरफोनलगायत सामग्री लुटपाट गरेका थिए।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक सीताराम रिजालले आगजानी र तोडफोडमा संलग्न २९ र मोबाइल लुटपाटमा संलग्न ११ जनालाई पक्राउ गरी अनुसन्धान थालिएको बताए ।