विश्वकप लिग २: नेपालले नामिबियालाई हरायो

काठमाडौँ /आइसिसी विश्वकप लिग २ अन्तर्गत नामिबिया,नेपाल र स्कटल्यान्डबीचको त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले नामिबियालाई ३ विकेटले पराजित गरेको छ ।

शनिबार कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपालले नामिबियालाई ३ विकेटले पराजित गरेको हो । नामिबियाले दिएको २७५ रनको लक्ष्य नेपालले ७ विकेट गुमाएर ४७.३ ओभरमा पूरा गर्‍यो।

नेपालको जितमा आसिफ शेख र ज्ञानेन्द्र मल्लले दोस्रो विकेटमा कीर्तिमानी १ सय ३९ रनको साझेदारी गरेपछि नेपालले २ सय ७५ रनको लक्ष्य १५ बल अगाडि पूरा गर्‍यो ।

नेपालका लागि तीन ब्याट्सम्यानले अर्धशतक प्रहार गरे। ओपनर आसिफ शेखले ८१ रनको योगदान गरे। यस्तै ज्ञानेन्द्र मल्लले ७४ बलमा ५ चौका र ३ छक्का प्रहार गरे। युवा ब्याट्सम्यान कुशल मल्लले ६२ रनको योगदान गरे। उनले ४९ बलमा ६ चौका र ४ छक्का प्रहार गरे।

ज्ञानेन्द्र र आसिफबीच दोस्रो विकेटका लागि १३९ रनको कीर्तिमानी साझेदारी भएको थियो। यो नेपालका लागि एकदिवसीय खेलमा सबैभन्दा ठूलो साझेदारी हो।

अर्का ओपनर कुशल मल्ल र दीपेन्द्रसिंह ऐरी १/१ रनमा आउट भए । कप्तान रोहित पौडेल ३९ रन र सन्दीप जोराले ३ रन जोडे। सोमपाल कामीले नटआउट ८ रन जोडे।

बलिङमा नामिबियाका ट्रम्पलम्यानले ३ विकेट लिए भने बेर्नाल्ड स्कोल्ट्जले २ विकेट हात पारे।

टस जितेको नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नामिबियाले ५० ओभरमा ६ विकेटको क्षतिमा २७४ रन जोड्यो। नामिबियाका लागि जेन ग्रिनले नटआउट ७५ रन जोडे। उनले ६३ बलमा ११ चौका र १ छक्का प्रहार गरे। ये फ्रान्सले ४९ रन जोड्दा ओपनर लो लाउरेन्सले ४१ रन जोडे। बलिङमा नेपालका सन्दीप लामिछानले ३ विकेट लिए। उनले १० ओभरमा ४६ रन खर्चिए। करण केसीले १ विकेट हात पारे।

लगातार तेस्रो विजयले नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउने आशालाई कायमै राखेको छ । नेपाल २७ खेलमा २४ अंकसहित सात राष्ट्र सम्मिलित लिग २ को अंक तालिकामा छैटौं स्थानमा छ । एकदिवसीय अन्तर्राष्ट्रिय मान्यतालाई कायम राख्न नेपालले बाँकी रहेको ९ मध्येको ६ खेल जित्नु पर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज