सांसद भण्डारीको स्वास्थ्य अवस्था खतरामुक्तु

काठमाडौँ / भारतको मुम्बईमा उपचाररत कांग्रेस नेता एवम् प्रतिनिधिसभा सदस्य चन्द्रकान्त भण्डारीको स्वास्थ्य खतरामुक्त रहेको चिकित्सकले बताएका छन् । उनको स्वास्थ्यमा उल्लेख्य सुधार देखिएको छ भने अनुहार र हातको जलेको भागमा आफ्नै छाला उम्रन सक्ने सम्भावना देखिएको चिकित्सकहरुले बताएका छन् ।

ग्यास चुहिएर भएको आगलागीमा परी घाइते भएका सांसद भण्डारीको भारतको मुम्बईस्थित नेसनल बर्न्स सेन्टरमा उपचार भइरहेको छ । शुक्रबार दिउँसो भण्डारीको दुवै खुट्टाको शल्यक्रिया गरिएको थियो ।

शनिबार मध्यान्ह काउन्सिलिङपछि डाक्टर सुनिल केस्वानीसहितको चिकित्सकहरुको टिमले भण्डारी अब खतरामुक्त रहेको बताएका छन् । शनिबारदेखि भण्डारीलाई पाइपमार्फत् खाना खुवाउने तयारी छ ।

काठमाडौंको बुद्धनगरस्थित घरमा बुधबार राति साढे १० बजे ग्यास सिलिन्डर विस्फोट हुँदा भण्डारी र उनकी आमा जलेर घाइते भएका थिए । सांसद भण्डारीकी ८६ वर्षीया आमा हरिकला भण्डारीको बिहीबार बिहान उपचारकै क्रममा कीर्तिपुर अस्पतालमा निधन भएको छ भने सांसद भण्डारीलाई बिहीबार दिउँसो श्री एयरलाइन्सको चार्टर्ड विमानमार्फत उपचारकालागि मुम्बई लगिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज