भौतिक विकासमा गुणात्मक फड्को आवश्यक छः प्रधानमन्त्री दाहाल

काठमाडौं/ प्रधानमन्त्री पुष्पकमल दाहालले सुशासनका लागि सरकारले आधारभूत सुधारमा जोड दिएको र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले त्यसपक्षमा परिणामात्मक थालनी गरेकोमा खुशी व्यक्त गरेका छन् ।

आइतबार बिहान उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ प्रकाशसहितको मन्त्रालयको टोली र प्रधानमन्त्रीबीचको भेटमा प्रधानमन्त्री दाहालले विकासको विस्तार, सुधार र प्रशासनको चुस्ततामा सरकारले जोड दिएको बताउँदै त्यसले छिटोभन्दा छिटो सकारात्मक परिणाम दिने विश्वास व्यक्त गरे। “पहिलो त विकासप्रतिको बुझाइमै ठीक दृष्टिकोण बनाउन जरूरी छ” उनले भने “त्यसका लागि ऐन–कानुनको संशोधनमा समेत सरकारको जोड रहेको छ।”

प्रधानमन्त्रीले देशलाई विकास र समृद्धिको दिशामा लैजाने राज्यका सबै अंग र तहहरूको समन्वयात्मक भूमिका र संकल्प हुनुपर्ने बताए। उनले भने, “वर्तमान सरकार देशका सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्य हासिल गर्न दृढतापूर्वक अघि बढिरहेको छ। तसर्थ, विकास र समृद्धिको लक्ष्य हासिल गर्न समन्वयात्मक भूमिका र संकल्पका अघि बढौँ।”

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनताको दैनिक जीवनसँग जोडिएका प्रश्नहरूलाई विज्ञहरू सम्मिलित कार्यदल नै बनाएर सम्बोधन पहल बढाएकोमा प्रधानमन्त्रीले सराहना गरे ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले प्रा.डा. सूर्यराज आचार्यको संयोजकत्वमा पूर्वाधार विकास प्रणाली सुधार कार्यदल, पूर्व सचिव शरदचन्द्र पौडेलको संयोजकत्वमा समग्र यातायातमा सुधार अध्ययन कार्यदल र प्रा.डा. राजेन्द्रप्रसाद अधिकारीको संयोजकत्वमा सुशासन सुधार सुझाव कार्यदल बनाएको छ।

उपप्रधानमन्त्री श्रेष्ठ, कार्यदलका संयोजकहरू र उपप्रधानमन्त्रीका सचिवालय टोलीले प्रधानमन्त्री प्रचण्डसँग भेटेको हो।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज