राष्ट्रपति निर्वाचन नजिकिँदै जाँदा नेपाली कांग्रेसमा राष्ट्रपतिको उम्मेदवारको बारेमा छलफलले ब्यापकता लिएको छ ।
पार्टी सभापति शेरवहादुर देउवाले रामचन्द्र पौडेललाई राष्ट्रपति बनाउने आश्वासन दिइसकेका छन् । तर पछिल्लो समयमा राष्ट्रपति बन्न नेता कृष्ण सिटौला र स्वयंम पार्टी सभापति देउवाको नाम पनि प्रस्तावमा आएका छन् ।
फेरिएको राजनीतिक अवस्थामा सभापति देउवा नै राष्ट्रपतिका लागि सबैभन्दा उपयुक्र्त व्यक्ति रहेको महामन्त्री विश्वप्रकाश शर्माले बताएका छन् । राष्ट्रपति पदमा कांग्रेस उम्मेदवारलाई समर्थन गर्दा नेकपा माओवादीका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले कम्तिमा ४ वर्ष प्रधानमन्त्रीमा लिखित सहमति खोजेका छन् । जसले गर्दा कांग्रेसले यो ५ वर्षे कार्यकालमा प्रधानमन्त्री पाउने अवस्था देखिँदैन । यस्तो अवस्थामा पार्टी सभापति देउवा राष्ट्रपति बन्दा उपयुक्र्त हुने नेताहरुको भनाई छ ।
सधै शक्तिको वरिपरि घुमिरहन मन पराउने देउवा र उनका अनुयायीहरुका लागि पाँच वर्ष सरकारबाट बाहिर बस्न सक्ने अवस्था छैन । देउवालाई राष्ट्रपति बन्न पारिवारिक दवाव पनि रहेको निकटस्थहरु बताउँछन् । कार्यकारी भूमिकामा नरहे पनि विगतमा राष्ट्रपतिबाट सरकारमा परेको दवाव कार्यकारी भूमिका सरहनै थियो । यहि बुझेका देउवा निकटस्थहरु देउवा प्रधानमन्त्री बन्ने अवस्था नआए राष्ट्रपति बन्दा उपयुक्र्त हुने बताउन थालेका छन् ।
देउवाले भने वरिष्ठ नेता रामचन्द्र पौडेललाई आवश्वासन दिएको बताउँदै आफू तत्कालका लागि राष्ट्रपति बन्ने दौडमा नरहेको बताइरहेका छन् ।