पाँच दलीय गठबन्धन ब्युँताउनेबारे दलहरु अन्तिम छलफलमा

काठमाडौँ/ विगतमा नेपाली कांग्रेस नेतृत्वमा बनेको पाँच दलीय गठबन्धन ब्युँताउनेबारे दलहरुवीच छलफल अन्तिम चरणमा पुगेको छ । राष्ट्रपति निर्वाचन नजिकिँदै जाँदा यसमा दलहरुवीच समझदारी भएमा पुरानै गठबन्धन ब्युँतने र वर्तमान दाहाल नेतृत्वको सरकारले समेत नयाँ स्वरुप पाउने छ।

कांग्रेस सभापति देउवाले बुधबार नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरूसँग आफ्नै निवासमा चरणबद्ध छलफल गरेका थिए । त्यसपछि कांग्रेस सभापति शेरबहादुर देउवासहितका नेताहरूले बुधबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेट गरेका थिए । उक्त भेटमा तत्कालीन गठबन्धनका सबै दलका नेताहरूसँग चरणबद्ध छलफल गर्ने र विगतको पाँच दलीय गठबन्धन ब्युँताउने सहमति गर्ने भद्र सहमति भएको बताइएको छ ।

बुधबार साँझ प्रधानमन्त्रीको निवासमा भएको छलफलमा कांग्रेसबाट सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित नेताहरू सहभागी थिए । त्यसअघि देउवाले धुम्बाराहीस्थित निवासमा नेकपा एसका अध्यक्ष नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव, लोसपाका अध्यक्ष महन्थ ठाकुरसहित नेताहरूसँग छलफल गरेका थिए ।

पाँच दलीय गठबन्धन ब्यूँताएर राष्ट्रपतिको निर्वाचनमा त्यही गठबन्धनबाट नेपाली कांग्रेसले उम्मेदवारी दिने समझदारी बनेको छ । आज बेलुकासम्म सबै विषयमा टुंगो लगाउने सहमति भएको वार्तामा सहभागि एक नेताले बताए ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज