काठमाडौँ / फागुन २५ मा हुने राष्ट्रपति निर्वाचनका लागि शनिबार उम्मेदवारी दर्ताको कार्यतालिका रहेको छ ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार उम्मेदवारीका लागि शनिबार १० बजेदेखि अपराह्न ३ बजेसम्म मनोनयनको समय निर्धारण गरिएको छ । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन कार्यक्रमअनुसार मनोनयनपत्र दर्ता भएपछि उम्मेदवारको सूची शनिबार ४ बजेसम्म सार्वजनिक हुने बताइएको छ ।
राजनीतिक दलहरुवीच देखिएको ध्रुविकरण अनुसार नेपाली कांग्रेस र नेकपा एमालेले राष्ट्रपति निर्वाचनमा उम्मेदवार उठाउने देखिन्छ । संघीय सांसद र प्रदेश सांसद राष्ट्रपति निर्वाचनका मतदाता रहने छन् ।
निर्वाचन कार्यक्रमअनुसार उम्मेदवारको विरोधमा आइतबारसम्म उजुरी दिन सकिनेछ । उजुरी परेमा सोमबार जाँचबुझ गरी त्यही दिन नाम सार्वजनिक हुनेछ । उम्मेदवारको अन्तिम नामावली मंगलबार प्रकाशन हुनेछ । २५ गते हुने निर्वाचनमा निर्वाचित हुन उम्मेदवारले बहुमत ल्याउनुपर्ने हुन्छ । बहुमत ल्याउन नसकेमा बढी मत प्राप्त गर्ने दुई उम्मेदवारबीच फेरि मतदान हुनेछ । त्यस्तो मतदानमा कुल मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्ने उम्मेदवार राष्ट्रपति निर्वाचित हुनेछ ।