काठमाडौँ /भारतको सहयोगमा मुस्ताङमा बौद्ध विश्वविद्यालय खोल्न लागिएको भन्दै शनिबार पूर्वप्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दिएको अभिव्यक्तिको खण्डन गर्दै नेपाल सरकारले मुस्ताङमा विश्वविद्यालय खोल्ने कुनै निर्णय नगरेको प्रष्टीकरण दिएको छ ।
सरकारका प्रवक्ता संचार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विज्ञप्ति जारी गर्दै यस विषयमा सरकारको धारणा सार्वजनिक गरेकी हुन । विज्ञप्तिमा मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले कलेज स्थापनाका लागि भारतीय दूतावासमा पत्र लेखेको जानकारी सार्वजनिक भएको र उक्त विषयमा के कसो भएको हो भन्ने छानबिन गरिने उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ, पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको भनाइ भनी सञ्चारमाध्यममा सार्वजनिक भएको समाचारप्रति नेपाल सरकारको गम्भीर ध्यानाकर्षण भएको छ । यस सम्बन्धमा नेपाल सरकारको धारणा स्पष्ट गर्न चाहन्छौं । मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा सरकारले कुनै अमूक देशको प्रस्तावमा कुनै अर्को देशलाई लक्षित गरी विश्वविद्यालय स्थापना गर्न थालेको भन्ने अभिव्यक्ति पूर्णतः भ्रमपूर्ण रहेको छ । नेपाल सरकारले यससम्बन्धी कुनै निर्णय नगरेको स्पष्ट गर्न चाहन्छौं ।
विज्ञप्तिमा मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले कलेज स्थापनाका लागि सहयोग गर्न अनुरोध गर्दै भारतीय दूतावासमा पत्र लेखेको भन्ने समाचार सार्वजनिक भएकाले यस सम्बन्धमा के भएको हो सोको अध्ययन र आवश्यक छानबिन गरी सत्य तथ्य सार्वजनिक गर्ने व्यहोरा जानकारी गराउन चाहन्छौं भनि उल्लेख गरिएको छ ।
प्रधानमन्त्री र नेपाल सरकारलाई आक्षेप लगाउने गरी तथ्यहीनरूपमा यस्ता विषय श्रृंखलाबद्धरूपमा सार्वजनिक हुनु दुःखद रहेको प्रस्टयाउँदै विज्ञप्तिमा भनिएको छ, परराष्ट्र नीतिमाथि आँच पुर्याउने गरी यस्ता अभिव्यक्ति आउनु उपयुक्त होइन । परराष्ट्र नीतिमाथि आँच पुर्याउने गरी अभिव्यक्ति आएको भन्दै सरकारले दुःख व्यक्त गरेको छ ।
नेपाल सरकार दृढतापूर्वक उभिएको एवं असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तप्रति प्रतिबद्ध रहेको सरकारले प्रस्ट पार्दै सरकार मुलुकको सार्वभौमिकता, अखण्डता, राष्ट्रिय हित एवं स्वतन्त्र र सन्तुलित कूटनीतिका पक्षमा रहेको उल्लेख गरिएको छ ।