राष्ट्रपति र प्रधानमन्त्रीद्धारा ११३ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा शुभकामना व्यक्त

काठमाडौं/ राष्ट्रपति विद्यादेवी भण्डारीले ११३ औँ अन्तर्राष्ट्रिय महिला दिवस (८ मार्च) को अवसरमा शुभकामना दिँदै महिला सशक्तीकरण र लैङ्गिक समानताका क्षेत्रमा नेपालले हासिल गरेका उपलब्धि विश्व महिला आन्दोलनकै निम्ति विशिष्ट रहेको उल्लेख गरेकी छन्।

महिलाको नेतृत्व विकास, अवसरको समतामूलक उपलब्धता र वितरण तथा आर्थिक प्रगतिका क्षेत्रमा तय गर्नुपर्ने लामो यात्रा बाँकी नै रहेको बताउँदै शुभकामना सन्देशमा राष्ट्रपति भण्डारीले मुलुकका तीनै तहका सरकार, संसद् र नीति निर्माणका निकायमा महिलाको भूमिका सुदृढ हुँदै गएकोले नेपाली महिलाको प्रतिष्ठा क्रमशः अभिवृद्धि हुँदै गएको उल्लेख गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले अन्तर्राष्ट्रिय महिला दिवसले महिलाविरूद्ध हुने सबै प्रकारका हिंसा, विभेद, उत्पीडन एवं समाजमा विद्यमान विकृत प्रथा र परम्परालाई निर्मूल गर्दै समानता र न्याय सुनिश्चित गर्न सबैमा थप ऊर्जा र उत्साह प्राप्त हुने विश्वास व्यक्त गरेकी छन् ।

११३ औँ अन्तर्राष्ट्रिय महिला दिवसकै अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले महिला उद्यमशीलता र स्वरोजगारलाई विकास गर्न भएका प्रयासहरू घनिभूत बनाउन जरुरी रहेको उल्लेख गरेका छन्।

प्रधानमन्त्रीले शुभकामना सन्देशमा महिला दिदीबहिनीलाई सम्मानपूर्वक व्यवहार गर्ने संस्कृतिको विकास गरी समान अधिकार र राज्यका सबै अङ्गमा समानुपातिक प्रतिनिधित्वका साथै अर्थपूर्ण नेतृत्व स्थापित गर्न थप प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन्।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज