काठमाडौं / चीनसँग सीमा जोडिएको हिमाली भूभाग मुस्ताङ क्षेत्रमा भारतलाई बौद्ध कलेज खोल्न दिने निर्णयबाट सरकार पछि हटेको छ । विशेषतः यस विषयमा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले खबरदारी गरेपछि सरकारले बौद्ध कलेज खोल्न दिने विषयमा कुनै निर्णय नभएको जनाएको छ । कलेज खोल्न अनुमति दिने विषयको पत्र भारतीय दुताबासमा नपठाएको समेत सरकारले भनेको छ ।
ओलीले मुस्ताङमा बौद्ध कलेज खोल्न अनुमति दिएर ०३१ सालको काण्ड बल्झाउन खोजेको भनेका थिए । त्यसबेला अमेरिकी खुफिया एजेन्सी सिआईएले मुस्ताङमा खम्पा विद्रोह मच्चाएको थियो । अमेरिकी हेलिकप्टरबाट अत्याधुनिक हतियारहरु काठमाडौंको स्युचाटारमा झारेर खम्पा विद्रोहीहरुका हातमा पु¥याइएको थियो । खम्पाहरुले मुस्ताङलाई आधार क्षेत्र बनाएर तिब्बतमा उत्पात मच्चाउने रणनीति लिएका थिए । चीनले यो गोप्य खम्पा विद्रोहको सुराक पाएपछि तत्कालीन राजा वीरेन्द्रलाई खम्पा विद्रोह दमन गर्न आग्रह गरेको थियो । यदि नेपालले खम्पा विद्रोह नदबाए चिनियाँ जनमुक्ति सेना मुस्ताङ उतार्ने चिनियाँ चेतावनीपछि राजा वीरेन्द्रले तत्कालीन शाही सेना परिचालन गरेर खम्पा विद्रोहलाई नियन्त्रणमा लिएका थिए ।
मुस्ताङमा युरेनियम खानी छ भन्ने पत्ता लगाइएको निकै लामो समय बितिसकेको छ । जुनसुकै अमेरिकी राजदूत नेपाल आए पनि उनीहरुको पहिलो भ्रमण मुस्ताङ नै हुने गरेको छ । अमेरिका चीनलाई तिब्बत विद्रोहमा झोंकेर चिनियाँ अर्थतन्त्रलाई कमजोर बनाउने रणनीतिमा छ । यसका लागि मुस्ताङ उपयुक्त स्थल हो भन्ने उसको पुरानो बुझाइ छ । मुस्ताङमा सिधै अमेरिकाले गतिविधि गर्दा चिनियाँ विरोधको सामना गर्नुपर्ने प्रस्टै छ । अमेरिका मुस्ताङमा भारतमार्फत अड्डा जमाउन खोजिरहेको छ । भारतको आफ्नै स्वार्थ छ— मुस्ताङको युरेनियम हात पार्ने । कलेज र बौद्ध स्तूपको बाध्य आवरणमा अमेरिकी हतियारको भण्डारण गर्ने र अर्को चीनविरुद्ध विद्रोह गराउने अमेरिकी षड्यन्त्र रहेको छ । अमेरिका र भारत दुवै मिलेर युरेनियम पनि ओसार्ने र तिब्बतमा अशान्ति पनि सिर्जना गर्ने योजनास्वरुप बौद्ध कलेजको अवधारणा आएको कूटनीतिक विश्लेषकहरुको अनुमान छ ।