काठमाडौं/ निर्वाचन आयोगले चैत ३ गते हुने उपराष्ट्रपतिको निर्वाचनका लागि तयार गरिएको दुई प्रकारको मतपत्रको नमूना सार्वजनिक गरेको छ । मतपत्रमा उम्मेदवारको तस्बिर र नाम समावेश गरिएको छ ।
निर्वाचनमा सङ्घीय संसद्का सदस्यका लागि रातो मसी र प्रदेशसभा सदस्यका लागि हरियो मसीले मतपत्र छपाइ गरिएको निर्वाचन आयोगले जनाएको छ ।
उपराष्ट्रपतिको निर्वाचनमा सत्ता गठबन्धनका तर्फबाट रामसहायप्रसाद यादव, प्रमिला कुमारी, ममता झा र नेकपा एमालेका तर्फबाट अष्टलक्ष्मी शाक्य (बोहरा), गरी चार उम्मेदवार बनेका छन् ।
सङ्घीय संसद् र प्रदेशसभाका सदस्यले मतपत्रमा रहेका कुनै एक उम्मेदवारको तस्बिर र नाम अङ्कित रहेको कोठामा स्वस्तिक छाप लगाई मत सङ्केत गर्न सक्नेछन् ।