नयाँ आईजीपीको लागि दौडधूप, आफू पक्षीय छान्न सरकारी कसरत

काठमाडौं / ३० वर्षे सेवा अवधि हटाएर आफ्नो कार्यकाल लम्ब्याउने प्रहरी महानिरीक्षक (आइजिपी) धीरजप्रताप सिंहकोे चलखेल सफल नभए आगामी ११ चैत ०७९ मा नेपाल प्रहरीले नयाँ आइजिपी पाउनेछ । नयाँ आइजिपीको लागि एक साताअघि प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवा भएका पाँच जना दौडमा छन् ।

गृह मन्त्रालयले गत शुक्रबार नेपाल प्रहरीमा रिक्त पाँच एआइजीका लागि नायब महानिरीक्षक (डिआइजी) हरू वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण वज्राचार्यको नाम सिफारिस गरेको छ । वर्तमान आइजिपी सिंहले सेवा अवधि लम्ब्याउन गरिरहेको तीव्र चलखेल सफल नभए यी पाँच एआइजीमध्येबाट एक जना आइजिपी बन्नेछन् ।

कुँवर मधेस प्रदेश, राई लुम्बिनी, थापा बागमती, ज्ञवाली कोसी प्रदेश प्रहरी प्रमुख र वज्राचार्य प्रहरी प्रधान कार्यालयको प्रशासन विभाग प्रमुखका रूपमा कार्यरत छन् । ०५१ चैत ५ र ०५२ भदौमा प्रहरी निरीक्षकमा भर्ना भएका उनीहरू ०७९ असार ८ मा १७ जना एकैसाथ एसएसपीबाट डिआइजीमा बढुवा भएका थिए । कुँवर, राई, ज्ञवाली, वज्राचार्य ०५१ सालमा भर्ना भएका हुन् भने थापा ०५२ सालमा भर्ना भएका हुन् । एआइजी बढुवा भएको दुई साता नबित्दै आइजिपी छान्नुपर्ने अवस्था आएकाले सरकारले आफू अनुकूल आइजिपी बनाउन थप सहज भएको छ । दुई साताको कार्यसम्पादन मूल्यांकनको अवस्था नरहेको कारण पाँच जनामध्ये जसलाई बनाए पनि यसअघिका जस्ता धेरै प्रश्नको समाना गर्नुपर्ने छैन । आइजिपी बढुवाको लागि सबैभन्दा तीव्र चलेखलमा एक नम्बरका कुँवर र तेस्रो नम्बरको थापा रहेको स्रोतको भनाइ छ । यी दुईमध्ये पनि कुँवर उत्साही रहेको बताइन्छ ।

वर्तमान आइजिपी सिंहले सकेसम्म आफ्नो सेवा अवधि लम्बाउन नसके कुँवरलाई बनाएर ‘डिफ्याक्टो’ चलाउने योजनामा छन् । त्यसो त कुँवरलाई सत्ता गठबन्धनको सबैभन्दा ठ्ूलो दल नेपाली कांग्रेसको साथ छ । कुँवर ०७५ माघ २६ गते प्रहरी उपरीक्षक (एसपी)बाट प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा हुँदा १३औँ नम्बरमा थिए भने एक नम्बरमा सन्दीप भण्डारी थिए ।
०७९ असार ८ गते एसएसपीबाट प्रहरी नायब महानिरीक्षक (डिआइजी)मा बढुवा हुँदा उतिबेलाको वरीयता ‘सेकेन्ड लास्ट’का कुँवर पहिलोमा उक्लिएका थिए । बढुवा भएका १७ जना डिआइजी मध्ये सातौँ नम्बरमा पुगेका थिए, उतिबेलाका एक नम्बर भण्डारी । कुँवर एआइजी बढुवामा पनि एक नम्बरमै परे ।

यो बढुवा प्रक्ररणमा धेरैले ‘वसन्त कुँवरको छलाङ’ भनेका छन् । यसको प्रमुख कारण हो, ‘दाजु फ्याक्टर’ । ‘दाजु फ्याक्टर’ अर्थात् एकाएक एक नम्बरमा उक्लिएका कुँवर लुम्बिनी प्रदेशका प्रदेश प्रमुख तथा पूर्वमहान्यायाधिवक्ता बाबुराम कुँवरका सहोदर भाइ हुन्, वसन्त । बाबुराम कुँवर सुशील कोइराला प्रधानमन्त्री हुँदा महान्यायाधिवक्ता बनेका थिए । उनी कांग्रेसनिकट कानुन व्यवसायीको छाता संगठन डेमोक्रेटिल लयर्स एसोसिएसनका पूर्वअध्यक्षसमेत हुन् ।

कांग्रेसले भावी आइजिपीको रूपमा कुँवरलाई तयार पारेको यसअघि नै चर्चा भएको थियो । तर उनको विगत भने विवादमुक्त छैन । सन् २०११ मा हिरासतमा रहेका बन्दीलाई यातना दिएको आरोपमा उनलाई संयुक्त राष्ट्रसंघले लाइबेरिया मिसनबाट फिर्ता पठाएको थियो । उनी बालाजु बृत्तको डिएसपी हुँदा पक्राउ गरी ल्याएका एक व्यक्तिलाई आफैँले यातना दिएको आरोप लागेको थियो । उनले हिरासतमा राखिएका ती व्यक्तिलाई १५÷२० दिनसम्म कुटेर यातना दिएको विषय निकै विवादमा परेको थियो । बालाजुको डिएसपी भएलगत्तै उनी शान्ति मिसनमा लाइबेरिया गएका थिए । तीन महिनामै मिसनबाट मानवअधिकार हननको चार्जमा फर्काइएका थिए ।

यसैगरी आर्थिक मामिलामा उनीे त्यति धेरै विवाद नआए पनि चितवनको एसपी हुँदा घरजग्गा व्यवसायी संघका अध्यक्ष बाबुराम अधिकारीको संयोजकत्वमा प्रहरी परिसरभित्रै भवन बनाउने कमिटी बनाउँदा अनियमितता गरेको आरोप छ ।

एक करोड लागतमा निर्माण हुने उक्त भवन निर्माणका लागि रियल स्टेटका कारोबारी अधिकारीलाई परिचालन गरी दुई करोड बढी उठाएको आरोप छ । चितवनका ह्याचरी व्यवसायीदेखि क्रसर व्यवसायीसँग लागतभन्दा दोब्बर रकम उठाइएको चर्चा त्यतिबेलै चलेको थियो । तर, चितवनबाट कुँवर सरुवा भइसकेपछि पनि भवनको गिटी बालुवाको समेत रकम नतिरेको आरोप उनीमाथि लाग्दै आएको छ । कुँवर सरुवा भएपछि भवन निर्माणको रकम माग्न आएपछि लेखापालले प्रहरी मुख्यालयमा पत्राचार गरेर हेडक्वार्टरबाट बजेट निकासा गरेर भुक्तानी गरिएको थियो । लागतभन्दा दोब्बर रकम उठाएर हिनामिना गरेको विषयको जवाफ पनि उनले दिएका छैनन् ।

यसअघि डिआइजी अशोक सिंह भावी आइजिपीका लागि बलियो दाबेदार मानिएको थियो । स्रोतका अनुसार सिंहलाई बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की स्वकीय सचिव तथा छोरी गंगा दाहाल र ज्वाईं जीवन आचार्य लागेका थिए । तर प्रधानमन्त्री दाहालका अर्की छोरी भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल भने दीपक थापाको पक्षमा उभिएपछि थापा अहिले माओवादी खेमाबाट सर्वसम्मत भएका छन् । रेणु पहिलोपटक मेयर उठ्दा थापा चितवनका प्रहरी प्रमुख एसएसपी थिए । मतपत्र च्यातिएको प्रकरणमा उनै थापाले सहयोग गरेर रेणुलाई गुण लगाएका थिए । त्यही गुणका कारण रेणु थापाको पक्षमा उभिएकी छिन् ।

स्रोतका अनुसार बहिनी गंगाले अशोक सिंहलाई बनाउने प्रस्ताव राख्दा रेणुले प्रतिवाद गरेकी थिइन् । भावी आइजिपीका बलिया दाबेदार मानिएका डिआइजी सिंहको नागरिकता र शैक्षिक प्रमाण पत्रमा दुईथरी जन्ममिति रहेको भन्दै ३ फागुनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि उनले राजीनामा दिए ।

यो राजीनामासँगै थापाको पक्षमा दिदीबहिनीको मिलन भएको स्रोतको दाबी छ । एआइजी थापाले आफूले प्रधानमन्त्री कार्यालय र सचिवालयमा मिलाइसकेको र आफू प्रमुख हुने निश्चितजस्तै भएको आफू निकटहरूलाई बताउने गरेका छन् । प्रहरीका प्रबन्ध र आर्थिक प्रशासन महाशाखाको लामो जिम्मेवारी सम्हालेका थापा आर्थिक चलेखलमा सबैभन्दा सिपालु अधिकृत मानिन्छन् । उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ०७४ यताका उजुरीको चाङ रहेको आयोग स्रोतको भनाइ छ । ०७५ मा नेपाल प्रहरीमा १८ किसिमका सामानको टेन्डर खुलेको थियो । तर, सामान गुणस्तरहीन भएको भन्दै उनीविरुद्ध उजुरी परेको थियो । ठेकेदार श्रवण अग्रवाल, टोपेन्द्र बिसी, वीरेन्द्र श्रेष्ठसँगको सेटिङमा थापाले ०७४ यता प्रहरीको सबै सामान खरिद गर्दै आएका छन् । उनकै कारण अघिल्लो वर्ष प्रहरीले जाडोमा न्यानो कपडा पाएका थिएनन् । अघिल्लो वर्षको खरिदमा पनि करोडौँ भ्रष्टाचार भएको भन्दै उनीविरुद्ध उजुरी परेको छ । उनी विरुद्धको उजुरी छानविनमा रहेको आयोग स्रोतको भनाइ छ ।

हाल कोसी प्रदेशका प्रमुख श्यामलाल ज्ञवाली पनि आइजीपीको तीव्र दौडधुपमा छन् । लुम्बीनी प्रदेशका सबै पार्टीका नेताहरू उनको पक्षमा रहेको बताइन्छ । तर नेपाल प्रहरीमा उमेर ढाँटेर जागिर खाएको विषय प्रमाणसहित सार्वजनिक भएपछि अख्तियार दुरुपयोग अनुसन्धान अयोगले छानबिनका लागि उनको पनि शैक्षिक प्रमाणपत्र र नागरिकता विवरण मागेकोे छ ।

डिआइजी ज्ञवालीको नागरिकतामा जन्ममिति ०२४ चैत २१ गते रहेकाले उनको डिआइजी बढुवा नै बदर हुने खतरा कायमै छ । नेपाल प्रहरीको सिटरोलमा ज्ञवालीको जन्ममिति ०२५ भदौ २६ गते छ । ज्ञवालीविरुद्ध परेको उजुरीमा सरकारी निकायलाई भ्रममा पारेर नेपाली नागरिकताको प्रमाणपत्रमा उल्लेख भएको वास्तविक उमेरभन्दा कम उमेर देखाएर जागिर खाइरहेको उल्लेख छ । उनले प्रहरी निरीक्षक पदमा योग्य हुन २० वर्ष पूरा भएको र २५ वर्ष ननाघेको हुनुपर्ने व्यवस्था भए पनि नागरिकताअनुसार २५ वर्ष पूरा भइसके पनि प्रहरी सेवामा प्रवेश गरेको उजुरीमा उल्लेख छ । उनले दाजु ठाकुर ज्ञवाली प्रहरी महानिरीक्षक भएका बेला नागरिकताको कपी नै गायब गरेको स्रोतको दाबी छ ।

कुँवर, थापा र ज्ञवालीबाहेक दोस्रो नम्बरका टेकप्रसाद राई र किरण वज्राचार्य पनि दौडमा छन् । तर, उनीहरूको सम्भावना कमजोर रहेको बताइन्छ । लुम्बिनी प्रदेशमा प्रहरी प्रमुख रहेका राई प्रतिआतंकवाद र आन्दरदेशीय अपराध मामलाका जानकार मानिन्छन् । यससम्बन्धी अनुसन्धान गर्ने प्रहरीको विशिष्टकृत इकाइ विशेष ब्युरोमा लामो समय बसेर काम गरेको अनुभव राईसँग छ । राई सोझो प्रहरी अधिकृतको रूपमा चिनिन्छन् ।

सरकारको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र)सँग उनको पारिवारिक पृष्ठभूमि भए पनि नेताहरूसँग उनको पहुँच छैन । उनकी बहिनी मणी खम्बु ‘रिवासी’ माओवादीबाट पहिलो संविधानसभाका सदस्य बनेकी थिइन् । खम्बु अहिले पनि माओवादीका सक्रिय नेतृ हुन् । आइजिपी बढुवाको लागि काठमाडौंमा तीव्र दौडधुप चलिरहेको बेला राई भने आफ्नो कार्यक्षेत्र लुम्बिनीतिरै छन् ।
बज्राचार्य भने आइजिपीको प्रतिस्पर्धामा पहिलो महिला हुन् । पूजा सिंहपछि प्रहरीको एआइजीमा बढुवा हुने उनी दोस्रो महिला हुन् । उनीसँगै डिआइजीमा बढुवा भएका उनकै ब्याचीहरू मीरा चौधरी, दुर्गा सिंह र किरण राणा भने पछि परेका छन् । पहिलो महिला प्रहरी प्रमुख बनेर इतिहास रच्नका लागि वज्रचार्य पनि दौडधुपमा छिन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज