काठमाडौँ / शुक्रबार सम्पन्न उपराष्ट्रपतिको निर्वाचनमा जनता समाजवादी पार्टीका उम्मेदवार रामसहायप्रसाद यादव निर्वाचित भएका छन् । निर्वाचनमा नेपालको तेस्रो उपराष्ट्रपतिका रुपमा निर्वाचित यादव ३० हजार ३२८ मतभार प्राप्त गरे । उनले संघीय संसद्तर्फ १४ हजार ५३६ र प्रदेशसभातर्फ १५ हजार ७९२ मतभार पाएका थिए ।
एमाले उम्मेदवार अष्टलक्ष्मी शाक्यले प्रदेशतर्फ ८ हजार ११२ र संघीय संसद्तर्फ ८ हजार २१६ गरी कुल १६ हजार ३२८ मत प्राप्त गरिन् । त्यसैगरी जनमत पार्टीबाट उपराष्ट्रपतिका उम्मेदवार ममता झाले प्रदेशतर्फ ७२० र संघतर्फ १ हजार ८१७ गरी २ हजार ५३७ मतभार प्राप्त गरिन् ।
जसपाबाट उपराष्ट्रपतिकी अर्की उम्मेदवार प्रमिला कुमारीले प्रदेशतर्फ ४८ मतभार अर्थात् १ सांसदको मत पाएकी छन् । सत्ता गठबन्धनको आधिकारिक उम्मेदवार रामसहायप्रसाद यादव बनेकाले प्रमिलाले आफ्नो उम्मेदवारी निष्क्रिय भएको घोषणा गरेकी थिइन् ।
बारा क्षेत्र नं२ बाट निर्वाचित यादव प्रतिनिधिसभा सदस्यसमेत हुन् । उनी जसपाका संसदीय दलका नेतासमेत हुन् ।