हाम्रो सामाजिक सक्रियता: सुरेन्द्र ढकाल प्रतिष्ठान तथा बानेश्वर एकता समाजबीच सहकार्य

काठमाडौं/सुरेन्द्र ढकाल प्रतिष्ठान तथा बानेश्वर एकता समाजबीच सामाजिक विकासका लागि सहकार्यको सुरुवात भएको छ ।
समाजिक अभियन्ता तथा राजनीतिज्ञ सुरेन्द्र ढकालद्धरा स्थापना गरिएको सुरेन्द्र ढकाल प्रतिष्ठानले बानेश्वर एकता समाजलाई १ लाख २ हजार बराबरको फर्निचर, भान्साको सामान, एम्प्लिफायर र भाँडाकुँडा सहयोग गरेको छ । प्रतिष्ठानसँग आवद्ध भएको कारण प्रतिष्ठानले समाजलाई वार्षिक रुपमा समाजलाई आर्थिक लगायतका सहयोग उपलब्ध गराउने प्रतिष्ठानका संस्थापक सुरेन्द्र ढकालले बताए ।

काठमाडौं महानगरपालिकाको महादेवस्थानदेखि अन्तर्राष्ट्रिय सभासम्मेलन केन्द्रका ३५ घरहरू मिलेर २०६२ सालमा बानेश्वर एकता समाजको स्थापना भएको थियो । यो समाजले स्थानीयस्तरमा सामाजिक विकासका विभिन्न गतिविधिको काम सञ्चालन गर्दै आइरहेको छ ।

सहरी विकास द्रुतगतिको बढ्न थालेपछि आफ्नो टोलवासी बीचमा नै चिनजान भेटघाट पातलो हुँदै गएको अवस्थामा बिरामी पर्दा गाह्रो साह्रो पर्दा एक्लो महसुस हुन थालेपछि स्थानीय युवा विराट खड्का (उत्तम)को सक्रियतामा हरिभक्त मानन्धर, किरण खरेल, दिलसुन्दर श्रेष्ठ, दिलबहादुर श्रेष्ठ, लक्ष्मीकृष्ण महर्जन, मकरबहादुर पण्डित क्षेत्री, सिद्धि महर्जन, ध्रुव थापालगायतले यो संस्थाको स्थापना गरेका थिए ।

वि.सं. २०६९ सालमा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा संस्था दर्ता भएको यो संस्थाले सडक बत्ती, सरसफाइ र सुरक्षा गार्ड राखेर टोलको हितमा काम गरिरहेको छ । वि. सं. २०७२ सालको महाभूकम्प पछिको समयमा यो संस्थाले समुदायलाई सुरक्षित राख्न महत्वपूर्ण काम गरेको थियो । यसका अलावा कोरोनाको महामारीमा समेत निःशुल्क खाना वितरण गरेको र डेंगु रोगविरुद्ध औषधी छर्ने काम गरेको थियो । समाजले विभिन्न सङ्घसंस्थाहरूको सहकार्यमा स्थानीय महिलाहरूका लागि अचार, चुरापोते बनाउने, कोशी खेतीको लागि प्रांगारिक मल बनाउने तालिम सञ्चालन गर्दै आइरहेको छ ।

समाजले टोलवासी ज्येष्ठ नागरिकहरूको सम्मान गर्ने, गणतान्त्रिक व्यवस्था लागू भएपछि संविधान सभाका सदस्य, प्रतिनिधि सभा र प्रदेश सभाका सदस्यहरूलाई आमन्त्रण गरी निरन्तर रुपमा शुभकामना तथा बधाई आदानप्रदान कार्यक्रम गर्दै आएको छ । राष्ट्रिय अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताका पदक विजेता टोलवासी युवाहरूको सम्मान गर्ने तथा दसैँ तिहारजस्ता महान चाडपर्वमा मूल सडकमा माला बत्ती बालेर सडक टोल सिंगार्ने कार्य गर्दै आएको छ । यसैगरी वार्षिक रुपमा क्यालेण्डर प्रकाशन गरी टोलमा वितरण गर्ने कार्य पनि गर्दै आएको छ ।

बानेश्वर एकता समाजले आफ्ना क्रियाकलाप आफ्नो टोलमा मात्रै सीमित नगरी दुर्गम ग्रामीण क्षेत्रमा समेत विभिन्न शैक्षिक सामाजिक काम गर्न सफल भएको छ । जसअनुसार ललितपुर दुग्धेश्वर बेनीचौर आधारभूत विद्यालय, मकवानपुर दामनको तामाङ गाउँस्थित कल्याण प्राथमिक विद्यालयका गरिब विद्यार्थीहरुलाई न्यानो कपडा, कापी, कलम, खेलकुद सामग्री वितरण आदि कार्यहरु पर्दछन् । कोरोनाकालमा रामेछापको ग्रामीण इलाकामा स्वास्थ्यचौकीहरुको लागि बेड पनि उपलब्ध गराएको छ । पञ्चकुमारी गुठीबाट पञ्चकुमारी मन्दिर निर्माण गर्दा यस समाजले सक्रियताका साथ आर्थिक सहयोग गरेको थियो । त्यसैगरी महादेवस्थान व्यवस्थापन समिति र वडा कार्यालयको अनुरोधमा यस समाजका सदस्यहरुले स्वयंसेवी भई विभिन्न कार्यक्रममा सहभागिता जनाएका छन् ।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज