काठमाडौँ — कंग्रेस आइका नेता राहुल गान्धीविरुद्ध चार वर्ष पुरानो मानहानीको घटनालाई लिएर भएको सजायको एक दिनपछि उनको लोकसभाको सदस्य पद खारेज गरिएको छ ।
शुक्रबार लोकसभा सचिवालयले एक सूचना जारी गर्दै गान्धीको लोकसभाको सदस्यता रद्द गरिएको जनाएको छ ।
चार वर्ष पुरानो मानहानीको घटनामा बिहीबार उनलाई सुरतको एक अदालतले २ वर्षको सजाय सुनाएको थियो । अदालतले गान्धीलाई १५ हजार जरिवाना पनि तोकेको छ । उनलाई फैसलाविरुद्ध अदालतमा अपिल गर्नका लागि एक महिनाको समय दिइएको छ ।
सन् २०१९ मा गान्धीले मोदी थरलाई लिएर एउटा टिप्पणी गरेका थिए । मुद्दाको सुनुवाइ भइरहेका बेला राहुल सुरत अदालतमा उपस्थितसमेत थिए ।