काठमाडौँ / सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मिटरब्याजी समस्या अध्ययनका लागि जाँचबुझ आयोग गठन गरेको छ । सरकारले मिटरब्याजी समस्या सम्बन्धमा सिफारिस गर्न विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको अध्यक्षतामा ३ सदस्यीय जाँचबुझ आयोग गठन गरेको हो ।
मंगलबार मन्त्रिपरिषद्को निर्णय सुनाउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले यसबारेमा जानकारी दिएकी हुन् । मन्त्रि शर्माका अनुसार आयोगका अन्य सदस्यहरुमा पूर्वनायव महान्यायाधिवक्ता गणेशबाबु अर्याल र पूर्वप्रहरी नायव महानिरीक्षक उत्तमबाबु सुवेदी रहेका छन् ।
मन्त्री शर्माका अनुसार मन्त्रिपरिषद् बैठकले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण (पहिलो संशोधन) नियमावली, २०७९ स्वीकृत गरेको छ । शान्ति सुरक्षासम्बन्धी कार्यमा हुने खर्चको मापदण्ड, २०७८ खारेज गर्ने निर्णय छ । त्यसैगरी नेपाल–चीन कुटनीतिक परामर्श संयन्त्रको १५ औँ बैठकमा सहभागी हुन परराष्ट्र मन्त्रालयका सचिवको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल गठन गर्ने निर्णय भएको छ ।
बैठकले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को अनुसूची–२ मा हेरफेर गर्न स्वीकृति दिने निर्णय गरेको छ । बैठकले नेपालको पूर्वी पहाडी क्षेत्रमा रहेका वन, भूमि तथा जैविक विविधताको दिगो व्यवस्थापनको लागि विश्व वातावरण सुविधा (जिईएफ) बाट करिब ५५ करोड रुपैयाँ अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।
त्यसैगरी विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वसन्तकालीन बैठकमा नेपालको सहभागिताका लागि अर्थ मन्त्रालयका सचिवको नेतृत्वको प्रतिनिधिमण्डल गठन गर्ने, ग्रामीण सडकको स्तरोन्नतिका लागि एसियाली विकास बैंकसँग सम्झौता वार्ता गर्नका लागि टोली गठन गर्ने लगायतका निर्णय गरेको छ ।