काठमाडौं/ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्धको राहदानी दुरुपयोगसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । बुधबार न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो । इजलासले विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेको छ।
महान्यायाधिवक्ता कार्यालयले केहि दिन अगाडी राहदानी दुरुपयोग सम्बन्धि विबादमा लामिछाने विरुद्ध मुद्दा नचलाउने भनेर निर्णय गरेको थियो । महान्यायाधीवक्ता दिनमणि पोखरेल तथा महान्यायाधीवक्ताको कार्यालयको उक्त निर्णय बदर गरी त्यस विषयमा अनुसन्धान तथा कारवाही गरिनु पर्ने माग गर्दै युवराज सफलले रिट दायर गरेका थिए । उक्त रिटमा प्रारम्भिक सुनुवाइपछि कारण देखाऊ आदेश जारी भएको हो ।
सर्वोच्च अदालतले लामिछानेले नेपालको नागरिकता पुनः लिने क्रममा जिल्ला प्रशासन कार्यालयमा पेस गरेको अमेरिकी नागरिकता त्यागेको निस्सा पेस गर्न आदेश समेत दिएको छ ।
उक्त आदेशमा विपक्षी महान्यायाधिवक्ताको कार्यालयलाई मुद्दा नचल्ने निर्णय गर्नुको कारणबारे लिखित जवाफ दिन भनिएको छ । वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले प्रधानमन्त्रीले विश्वासको मत लिने दिन सौदाबाजी गरी मुद्दा नचल्ने निर्णय गरेको बताएका थिए ।
रिटमाथि लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता सुनिल पोखरेलले बहस गरेका थिए ।