काठमाडौँ / सरकारले स्थानीय पञ्जिकाधिकारीहरूलाई परिपत्र जारी गर्दै एकल महिलाबाट जन्मेको बच्चालाई मावलीकै थरबाट जन्मदर्ता प्रदान गर्न निर्देशन दिएको छ ।
एकल महिलाबाट जन्मेका बच्चाहरूले जन्मदर्ता नपाएकै कारण शिक्षादीक्षामा अवरोध, बाल पोषणलगायत सामाजिक सुरक्षा सुविधा तथा नागरिकता नपाउने सास्ती खेप्दै आएको गुनासो आएपछि बुधबार परिपत्र जारी गर्दै यस्तो व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ ।
गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले ७५३ पालिकाका ६ हजार ७ सय ४३ वटै वडाका स्थानीय पञ्जिकाधिकारीलाई बुधबार परिपत्र जारी गरेको छ । जसमा विवाहअघि जन्म भएको तर पितृत्वको ठेगान नभएको बच्चा, एकल महिलाले विवाह गरी बच्चासहित पतिको ठेगानामा सँगै बसेको अथवा बच्चालाई मावलीमै जिम्मामा छाडेको भए उक्त बच्चाको दोहोरो दर्ता नहुने गरी मावलीकै थर राखी आमाको हालको स्थायी ठेगाना राखेर जन्म दर्ता गर्नुपर्ने उल्लेख गरिएको छ ।
यसरी जन्मदर्ता गरेपनि बाबु पत्ता लागेको अवस्थामा मावलीको थरबाट पाएको जन्मदर्ता रद्द गरी नयाँ जन्मदर्ता लिन पाउने व्यवस्था गरिएको छ ।