काठमाडौं / सुरेन्द्र ढकाल प्रतिष्ठानले आफ्नो नियमित त्रैमासिक बैठकको अवसर पारेर विभिन्न व्यक्तित्व तथा संस्थाहरूलाई मानार्थ सदस्यता तथा आवद्धता प्रमाणपत्र वितरण गरेको छ । टंकबहादुर श्रेष्ठ, सम्झना पोखरेल शाह, दलबहादुर थापा, सिद्धिनारायण महर्जन, सम्झना सिंह शाह तथा बेनीमैया हैंजुलाई प्रतिष्ठानको मानार्थ सदस्य प्रदान गरेको छ । त्यस्तै गरी प्रतिष्ठानसँग आवद्ध भएका पद्मोदय माध्यामिक विद्यालय, बालकुमारी माध्यामिक विद्यालय, नयाँ मार्ग टोल सुधार समिति, नीता फाउण्डेसन र युथ आई सर्भिसलाई आबद्धताको प्रमाणपत्र वितरण गरेको छ ।
उक्त अवसरमा मानार्थ सदस्यहरूले प्रतिष्ठानमार्फत सामाजिक सेवामा संलग्न हुने अवसर प्राप्त गरेकोमा खुसी व्यक्त गरेका थिए । आवद्ध संस्थाहरूका प्रतिनिधिहरूले प्रतिष्ठानसँगको सहकार्यबाट थोरै भए पनि सकारात्मक परिवर्तन हुने अपेक्षा राखेका थिए । बैठकमा प्रतिष्ठानका अध्यक्ष सुरेन्द्र ढकालले मंसिरदेखि फागुन महिनासम्म प्रतिष्ठानले सम्पन्न गरेका र चैतदेखि असारसम्म सम्पन्न गर्नुपर्ने कार्यहरूको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
प्रतिष्ठानका कार्यकारी परिषद सदस्य तेजेन्द्र प्रसाईंले संस्थाको स्थापनाकालदेखि हालसम्मका उतारचढाबारे जानकारी गराएका थिए भने उपाध्यक्ष डा. रोशाना श्रेष्ठले सबै सहभागीहरूलाई उपस्थिति र अन्तरक्रियाका लागि धन्यवाद ज्ञापन गरेकी थिइन ।