सिन्धु ज्वालाले जनताको ६० करोड डुबायो

काठमाडौं / झोलामा खोला बोकेर पैसा ठग्ने गिरोहमा थुप्रै चर्चित व्यक्तिहरू परेका छन् । सिन्धु ज्वाला हाइड्रोपावर लिमिटेड कम्पनी खडा गरेर ठगी गर्नेमा निकै प्रतिष्ठित व्यक्तित्व मानिने डा.गोविन्द पोखरेल पनि परेका छन् । अगस्ट ५ सन २००८ मा कम्पनी रजिष्ट्रारको कार्यालयमा सिन्धु ज्वाला हाइड्रोपावर कम्पनी दर्ता भएको थियो । यो कम्पनीमा बोर्ड डाइरेक्टरका रूपमा रहेका डा. पोखरेलको अनुहार देखाएर विभिन्न व्यक्तिहरूलाई न्यूनतम १ लाख रूपैयाँ माथिको संस्थापक शेयर बेच्ने काम गरियो ।

सिन्धुपाल्चोक जिल्लाको अपर नेस्सम खोलामा ४३ मेगावाट विद्युत उत्पादन गर्ने गरी थालिएको प्रोजेक्ट ५ वर्षभित्रै सम्पन्न गरी विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको थियो । तर पैसा बुझाएको झन्डै एक दशक भइसक्दा पनि कम्पनीले कुनै काम गरेको छैन भने पैसा भागबन्डा गरेर खाने ब्वाँसाहरू दुई समूह बनाएर झगडा गरिरहेका छन् ।

जनताको पैसा ६० करोड उडाएर यसका सञ्चालकहरूले विभिन्न ठाउँमा घरजग्गा जोडेका छन् । अहिले कोटेश्वर पेरिसडाँडामा रहेको कम्पनीको अफिसमा तालाबन्दी गरेर एउटा समूह (जो चुर्णबहादुर श्रेष्ठको नेतृत्वमा रहेको छ) हिँडिरहेको छ । कम्पनी रजिस्टारको कार्यालयमा आधिकारिक रूपमा रहेको अर्जुन बन्धु रेग्मीको समूह तालाबन्दीमा परेर कर्मचारीसहित चिया पसलमा अड्डा जमाएर बसेको छ ।

उता डा. गोविन्द पोखरेल अहिले नेपथ्यमा पुगेका छन् । पहिला पैसा उठाएर भागबन्डा गर्ने बेलामा अग्रसर देखिएका पोखरेल अहिले शेयर होल्डरलाई जवाफ दिनुपर्छ भनेर कतै देखिने गरेका छैनन् । यो कम्पनीले साधारणसभाका बेला प्रभु अधिकारी नामको एकजना भाडाका विद्युत् माफियालाई ल्याएर शेयर होल्डरलाई प्रभावित पार्न लगाउने गरेको थियो । यस आयोजनाका लगानीकर्ताहरूले डा. पोखरेलको आधिकारिक जवाफसमेत पर्खिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज