महानगरका फुटपाथमा बनाइएका प्रहरी बिट हटाउन मेयर साहको निर्देशन

काठमाडौं / काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले महानगरपालिका भित्रका विभिन्न सडकमा फुटपाथमा बनाइएका प्रहरी बिट हटाउन निर्देशन दिएका छन् ।

शनिवार सामाजिक सञ्जालमा पोष्ट गर्दै साहले यस्तो निर्देशन दिएका हुन । उनले सामाजिक सञ्जालमा लेखेका छन् फुटपाथ सँधै मान्छे हिड्नका लागि प्रयोग हुनु पर्छ भनेर हामीले फुटपाथमा व्यापार गर्न रोकेका छौँ । यो नियम सर्वसाधारणका लागि मात्रै होइन । सबैका लागि हो र हुनु पर्छ ।

कानुन कार्यान्वयन गर्ने नेपाल प्रहरीले नै बाटो मिचेर आफ्नो संरचना बनाउँछ भने त्यो गलत हुन्छ । त्यो संरचना प्रहरी आफैले हटाउनुहोला । नत्र समतामुलक कानुनको प्रयोगको लागि पनि हामी ति संरचना हटाउन बाध्य हुनेछौँ ।

मेयर साहले राजदुतावास लगायत विदेशी नियोगका हकमा पनि सम्बन्धित मन्त्रालयलाई काम अगाडि बढाइदिन पत्राचार गरिसकेको उल्लेख गर्दै कानुन सर्वसाधारण नागरिकका लागि र अरुका लागि अलग्गै हुन्न भन्ने तथ्य स्थापित गर्न तयार हुनु पर्ने बताएका छन् । यसका लागि तयार रहन मेयर साहले सरोकारवाला सबैको ध्यानाकर्षण गरेका छन् ।

मेयर साहले हटाउनु पर्ने प्रहरी बिटहरूको तस्वीर सहितको विबरण सार्वजनिक गरेका छन् । जसअनुसार बालुवाटारस्थित प्रधानमन्त्री निवास अगाडि, सामाखुसी, जडीबुटी चोक, सिनामंगल चोक, चुच्चेपाटी चोक, ढल्को, ताम्सीपाखा, रुद्रमतीमार्ग मैतीदेवी, असन चोक, न्यूरोड पिपलबोट, चिकमंगलम, धोवी चोर, देउराली क्लब, रातो पुल, बौद्ध, ताहचल, पेप्सीकोला, त्रिवि अन्तर्राष्ट्रिय विमानस्थल अगाडि र माछापोखरीका प्रहरी बिट सडक पेटी मिचेर बनाइएका छन् ।

मेयर साहले शनिबार विहान मात्रै फेसबुक पेजमार्फत सिंहदरबारको फोहोर नउठाउने घोषणा गरेका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज