सरकारले सच्यायो परिपत्र, अब एकल महिलाका सन्तानको आमाकै थर र ठेगानाबाट जन्मदर्ता हुने

काठमाडौँ / एकल महिलाबाट जन्मेका बच्चालाई ‘मावलीकै थर’ बाट जन्मदर्ता प्रदान गर्ने भनी गृह मन्त्रालयको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले केही दिन अघि जारी गरेको परिपत्रको चर्काे आलोचना भएपछि आइतबार त्यसलाई सच्याएर पुनः अर्काे परिपत्र जारी गरिएको छ ।

सरकारले चैत २२ गते स्थानीय पञ्जिकाधिकारीहरुलाई परिपत्र जारी गर्दै ‘मावली थर’ राख्ने व्यवस्था गरेको थियो । जारी नयाँ परिपत्रमा ‘बच्चा जन्मिँदा कायम आमाको थर र स्थायी ठेगाना राखी जन्मदर्ता गरिदिने’ भनी सच्याइएको छ ।

आइतबार जारी गरेको परिपत्रमा बच्चाको जन्म दिने आमाको लैंगिक भूमिकालाई उच्च सम्मान गर्दै संविधानअनुसार प्रत्येक बालबालिकालाई आफ्नो पहिचानसहित नामकरण र जन्मदर्ताको हक संरक्षण गर्न परिपत्रका सम्बन्धमा थप स्पष्ट पारिएको उल्लेख गरिएको छ ।

परिपत्रमा सम्बन्ध विच्छेद भई आमासँग रहने छोराछोरीको सन्दर्भमा आमाको हालको स्थायी ठेगानाबाट जन्मदर्ता गर्ने उल्लेख गरिएको छ । यसका साथै कारागारमा सजाय भोगिरहेका महिलाबाट जन्मिएको बच्चाको जन्मदर्ता गर्दा आमाकै स्थायी ठेगाना भएको वडा कार्यालयबाट गर्ने, बालविवाह, बहुविवाहबाट जन्मेका बच्चाको कानुनबमोजिम तथा मातृत्व पितृत्व पत्ता नलागेको, कुनै पनि परिवार नभएको प्रमाणित भएमा संरक्षकले दिएकै ठेगाना, नाम र थर राखी जन्मदर्ता पाउने व्यवस्था थप गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज