हाम्रो सामाजिक सक्रियता: सुरेन्द्र ढकाल प्रतिष्ठान र दिक्तेल समाज काठमाडौंबीच सहकार्यको थालनी

काठमाडौं / सुरेन्द्र ढकाल प्रतिष्ठान र दिक्तेल समाज काठमाडौँबीच सहकार्यको थालनी भएको छ । खोटाङ जिल्ला, दिक्तेल बजार र सो आसपास स्थायी बसोबास भई हाल काठमाडौं उपत्यकामा अस्थायी तथा स्थायी रुपमा बसोवास गर्दै आएका व्यक्ति तथा परिवारबीच आपसी सहयोग एवं सद्भावको अभिवृद्धि गर्ने उद्देश्यले १२ वर्ष अगाडि दिक्तेल समाज काठमाडौंको स्थापना भएको थियो ।

सुरेन्द्र ढकाल प्रतिष्ठानमा आवद्धता भएको यो संस्थाले प्रतिष्ठानबाट एक लाख रुपैयाँ सहयोग प्राप्त गरेको अध्यक्ष श्रेष्ठले बताए । भविष्यमा समेत यसरी नै यस संस्थालाई आर्थिक सहयोग उपलब्ध गराउने प्रतिवद्धता व्यक्त भएको बताउँदै अध्यक्ष ढाकमकुमार श्रेष्ठले सहयोगका लागि प्रतिष्ठानलाई हार्दिक धन्यवाद दिएका छन् ।

दिक्तेल समाज काठमाडौँले सुरेन्द्र ढकाल प्रतिष्ठानसँग सहकार्यमा आगामी दिनहरूमा सामाजिक, सांस्कृतिक क्षेत्रमा गरिएको उल्लेखित कार्यहरूलाई निरन्तरता दिइनेछ भने गरिब तथा निमुखा जनताहरूलाई स्वास्थ्य र शिक्षाको लागि सहयोग गर्ने पहल गरेको प्रतिष्ठानका संस्थापक सुरेन्द्र ढकालले बताए । संस्थापक ढकालका अनुसार स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन पहल गरिने छ भने सामुदायिक विद्यालयलाई आर्थिक सहयोग उपलब्ध गराइने लक्ष्य लिइएको छ ।

समाजले आफ्नो क्षेत्रका व्यक्ति तथा परिवारमा पर्न सक्ने सामाजिक, प्राकृतिक तथा आकस्मिक घटनाबाट पीडितहरूलाई राहत पु¥याउने तथा दिक्तेल बजारमा परम्परादेखि स्थापित संस्कृतिको संरक्षण तथा सम्वर्द्धन गर्ने उद्देश्य लिएर काम गर्दै आइरहेको अध्यक्ष श्रेष्ठले बताए ।

अध्यक्ष श्रेष्ठका अनुसार यसरी विभिन्न रुपमा गरिएको कार्यभन्दा सङ्गठित रुपमा गरिएको कार्य परिणाममुखी एवं सरकारी तवरबाट समेत मान्यता हुने भएकोले दिक्तेल बजारबाट काठमाडौंमा आई बसोवास गर्ने व्यक्तिहरूका बीचमा व्यापक छलफल गरी दिक्तेल समाज काठमाडौंको स्थापना भएको हो ।

संस्थालाई अझ व्यवस्थित रुपमा सञ्चालन गर्नको लागि कार्यालय भवन निर्माणका लागि दिक्तेल बजारमा स्थायी घर भई हाल बानेश्वर काठमाडौंमा बस्दै आएका टंकबहादुर श्रेष्ठले दिक्तेल संस्थाको भवन निर्माणका लागि काठमाडौं महानगरपालिका वडा नं. २९ स्थित घट्टेकुलोमा निःशुल्क जग्गा उपलब्ध गराएका अध्यक्ष श्रेष्ठले जानकारी दिए । उक्त जग्गामा दिक्तेल समाजका सदस्यहरू, आजीवन सदस्यहरू, तत्कालीन प्रतिनिधिसभा सदस्य कृष्णा अमात्य, प्रतिनिधिसभा सदस्य प्रकाशमान सिंह र बागमती प्रदेशसभा सदस्य दिपेन्द्र श्रेष्ठको संयुक्त पहलबाट स्थानीय विकास साझेदारी कार्यक्रमअन्तर्गत आर्थिक सहयोगबाट सुरुमा १ तला मात्र निर्माण भएकोमा हाल ५ तलाको भवन तयार भएको छ ।

उपाध्यक्ष मिना केसीका अनुसार हरेक २ वर्षमा दिक्तेल समाज काठमाडौंको कार्य समितिको नयाँ सञ्चालक समितिको चयन हुने गरेको छ । हालसम्म यस संस्थामा ११६ जना आजीवन सदस्यहरु आवद्ध भएका छन् । यस संस्थाको संरक्षकमा टंकबहादुर श्रेष्ठ, सल्लाहकारहरुमा प्रतिनिधिसभा सदस्य सरस्वती बजिमय, पूर्णबहादुर श्रेष्ठ, नरेशकुमार श्रेष्ठ, दुर्गाप्रसाद जोशी, धु्रवकुमार बजिमय, युवराज जोशी, युवराज बजिमय र नवराज सैंजू रहेका छन् । अध्यक्ष ढाकमकुमार श्रेष्ठ, उपाध्यक्ष मिना के.सी., महासचिव रोशनकुमार बजिमय, कोषाध्यक्ष रुद्रकुमार जोशी र सदस्यहरु इन्द्रकुमार सैंजू, रविन्द्रकुमार सैंजू, दलबहादुर बजिमय, हिमाली श्रेष्ठ प्रधान, सन्तोष जोशी गरी ९ जनाको कार्यसमिति रहेको छ ।

यस संस्थाले गरेको सामाजिक कार्यमा संस्थाका सदस्यहरुको परिवार तथा सहयोगीहरुको परिवारका कसैको मृत्यु भएमा यस समाजका सदस्यहरु मलामी जाने, मृतकको किरिया बसेको स्थलमा पुगी श्रद्धाञ्जली एवं समवेदना व्यक्त गर्ने र सरौं वापत आर्थिक सहयोग गर्ने गरेको छ । दिक्तेल बजारमा देखाउँदै आएको लाखेजात्रालाई काठमाडौंमा पनि देखाई परम्पराको रुपमा रहेको जात्रालाई लोप हुनबाट जोगाउने उद्देश्यले यस संस्थाले दिक्तेल बजारको लाखेजात्रालाई काठमाडौंमै उपत्यकाको विभिन्न स्थानमा देखाउँदै आइरहेको छ । उक्त जात्रालाई यस संस्थाले निरन्तर रुपमा देखाउने योजना रहेको छ ।

यस समाजका सदस्यहरुको आपसी सम्बन्धलाई प्रगाढ गर्नका लागि बेलाबेलामा भेला, पिकनिकजस्ता सामाजिक कार्यहरु गर्दै आइरहेको छ । यीबाहेक पनि धेरै सामाजिक कार्यहरु गर्ने मनसाय यस समाजले राखे पनि विस्तारै आर्थिक रुपमा आफूलाई सवल बनाउँदै सामाजिक कार्यहरूलाई निरन्तरता दिने योजना यस समाजको रहेको उपाध्यक्ष के.सी ले बताइन ।

दिक्तेल समाज काठमाडौंबाट गरिएका सामाजिक एवं सांस्कृतिक कार्यक्रमहरु यसका सदस्यहरु, सहयोगीहरुको साथ सहयोगबाट नै सम्पन्न हँदै आएका छन । आउँदा दिनहरूमा समेत यस समाजले निरन्तर सहयोगको अपेक्षा राखेको अध्यक्ष श्रेष्ठले बताए ।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज