सिन्धुज्वालामा ५५ करोडको घोटाला

काठमाडौं / झोलामा खोला बोकेर हिँड्ने गिरोहले सिन्धुज्वाला हाइड्रोपावर प्रोजेक्टका नाममा शेयर संस्थापक सदस्यहरुको ५५ करोड रुपैयाँ झ्वाम पारेका छन् । सिन्धुपाल्चोक जिल्लाको नेस्सम खोलाबाट ४३ मेगावाट बिजुली निकाल्ने र विद्युत उत्पादनको तीन वर्षपछि नै आकर्षक नाफा कमाउने प्रलोभन दिएर मुलुकका ठूलाबडा भनिने मानिसहरुकै संलग्नतामा उठेको पूरै रकम अर्थात् ५५ करोड नै स्वाहा पारिएको छ ।
पूर्व महालेखा परीक्षक बद्रीबहादुर कार्की, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. गोविन्द पोखरेल, व्यवसायी चूर्णप्रसाद श्रेष्ठलगायत व्यक्तिहरु बोर्डमा बसेर उनीहरुकै व्यक्तित्वको बिक्री गरेर सर्वसाधारणसँग प्रतिव्यक्ति एक लाखदेखि माथिको शेयर उठाइयो । यसरी शेयर उठाएको मध्ये करिब १५ करोड रकम विभिन्न शीर्षकमा खर्च भएको फाँटवारी देखाइएको छ भने बाँकी ४० करोड रकम एक रुपैयाँ पनि बाँकी नराखी सञ्चालकहरुले बाँडीचुँडी आफ्नो घर व्यवहार सुधारेका छन् ।

यस सम्बन्धमा डा. गोविन्द पोखरेलसँग जानकारी लिँदा उनले आफू भ्रष्टाचार काण्डमा संलग्न नभएको बताउँदै बद्रीबहादुर कार्की र चूर्णप्रसाद श्रेष्ठले रकम हिनामिना गरेको र त्यसको जिम्मेवारी उनीहरुले लिँदै सञ्चालक समितिलाई निवेदन दिएको बताएका छन् । आफ्नो ७० लाखको मात्र शेयर रहेको र ४ करोड ५० लाख बराबरको शेयर हुनेले मात्र बोर्डमा बस्न पाउने भएकाले आफू अहिले सञ्चालक नरहेको उनले बताएका छन् । महालेखा परीक्षकको जिम्मेवारी निभाइसकेका बद्रीबहादुर कार्कीको हिसाबकिताब राम्रो होला भनेर आफूले लगानी गरेको तर पछि तिनै कार्की र चूर्णप्रसादले कम्पनी डुबाउँदा आफूलाई दुःख लागेको पोखरेल बताउँछन् ।

यसैबीच पेरिसडाँडा नजिकै रहेको सिन्धुज्वालाको कार्यालयमा दुई समूहको भाले जुधाइ चलिरहेको छ । चूर्णप्रसाद श्रेष्ठले मनोजकुमार दुवाल र महेशबाबु तामाङ नामका डनहरुलाई अघि सारेर अर्जुनबन्धु रेग्मी अध्यक्ष रहेको समूहलाई कार्यालयबाट लखेटेका छन् । सिन्धुज्वालाका सम्पूर्ण कर्मचारी सडकमा पुगेका छन् भने डनको कब्जामा कार्यालय रहेको जानकारी नाम नबताउने शर्तमा एक जना कर्मचारीले दिएका छन् । चूर्णप्रसाद र अर्जुनबन्धु रेग्मीको समूहले छुट्टाछुट्टै साधारणसभा गरेका थिए भने कम्पनी रजिस्टारले रेग्मी समूहलाई आधिकारिक मानेको थियो । रेग्मीले सिन्धुज्वाला सम्हाल्न थालेपछि १५ करोड नयाँ लगानी गरेर कर्मचारीहरुको बाँकी तलब खुवाएर प्रोजेक्ट अगाडि बढाउने तयारी गरेको थियो । शर्मा एन्ड कम्पनीका रमेश शर्मा लगायतले कम्पनी अगाडि बढाउने प्रयत्न गरेको बेला चूर्णप्रसादको तालाबन्दी र हस्तक्षेपले सतचूर्ण पारेकोले गर्दा कम्पनीका लगानीकर्ताहरुको पैसा फिर्ता नहुने अवस्थामा पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज