एसएसबीको दादागिरी

काठमाडौं / कञ्चनपुरको दक्षिणी क्षेत्रमा फेरि सीमा विवाद सुरु भएको छ । बेलौरी नगरपालिका–८ पचुईमा विद्युत् लाइन व्यवस्थित गर्न खोज्दा भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले अवरोध गरेको हो । पचुईमा एसएसबीले सीमा विवादकै कारण ५ वर्षदेखि हुलाकी सडक निर्माणमा पनि अवरोध गर्दै आएको छ ।
पछिल्लो पटक चैत दोस्रो साता विद्युत् प्राधिकरण बेलौरी शाखाले लाइन व्यवस्थित गर्न खोजेको थियो । विगतमा खेतमा गाडिएको विद्युत् पोललाई हुलाकी सडक किनारमै गाड्न खोज्दा एसएसबीले अवरोध गरेको हो ।

सीमा विवाद देखिएको क्षेत्रमा आइतबार प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकाय प्रमुखले अनुगमन गरेका छन् । प्रजिअको टोलीले स्थानीयसँग छलफल र भौगोलिक अवस्थाबारे जानकारी लिएको थियो । ‘त्यो क्षेत्रमा कुनै विवाद छैन, नेपालको बस्ती भएको क्षेत्र हो,’ प्रजिअ गोपालप्रसाद अर्यालले भने । उनले गत पुसमा भारत उत्तराखण्डको उधमसिंहनगरमा भएको सीमा क्षेत्रका सुरक्षा निकायका प्रमुखको बैठकमा यस विषयमा कुरा भएको बताए ।

बैठकमा उत्तराखण्डको चम्पावत र उधमसिंहनगर तथा उत्तर प्रदेशको पिलिभित जिल्लाका सुरक्षा अधिकारीको उपस्थिति थियो । पिलिभितका डीएमले उक्त क्षेत्रको अवस्थाबारे जानकारी लिन प्रतिनिधि पठाएर निर्माण कार्यमा सहजीकरण गर्ने बताएका थिए । ‘अहिले विवाद आएपछि फेरि पिलिभितका डीएमसँग छलफलको तयारी भइरहेको छ,’ प्रजिअ अर्यालले भने । विद्युत् लाइन व्यवस्थितसँगै हुलाकी सडक निर्माणको कामसमेत सञ्चालन गर्ने विषयमा छलफल गरिने उनको भनाइ छ ।

यसअघि पनि काउन्टर पार्ट बैठकमा यसबारे पटकपटक छलफल भएको थियो । तर, भारतीय पक्षले यस विषयको आफ्नो अडान भने कायमै राखेको छ । हुलाकी सडक निर्माणको काम रोकिँदा १२ सय मिटर सडक खण्ड अलपत्र परेको छ । एसएसबीले उक्त क्षेत्र दशगजामा पर्ने भन्दै पटकपटक अवरोध गर्दै आएको छ । कञ्चनपुरमा पुनर्वास नगरपालिकाको डोकेबजारदेखि बेलौरीको बुटाबारीसम्म २२ किलोमिटर सडक खण्डमा पर्ने उक्त क्षेत्रमा निर्माण कम्पनीले यही बहाना देखाएर काम रोकेको छ ।

भारतीय पक्षले पछिल्लो पटक स्ट्रिप नक्सा देखाउँदै ठाउँठाउँमा विवाद गर्दै आएको छ । पचुई क्षेत्रमा पनि स्ट्रिप नक्साकै आधारमा एसएसबीले अवरोध गरिरहेको हो ।बेलौरी–१० भुडामा नेपालीको लालपुर्जा भएको जमिनसँगै महाकाली सिँचाइ आयोजना दोस्रो चरणको नहरसमेत भारतमा पर्ने स्ट्रिप नक्साले देखाएको छ ।
०७६ चैतमा दुवै देशको संयुक्त सर्भे टोलीले स्ट्रिप नक्साअनुसार नापी गर्दा पुनर्वासदेखि बेलौरी र बेलडाँडीमा लालपुर्जा भएको थुप्रै जमिन भारतमा पर्ने देखिएपछि स्थानीयले नापी टोलीलाई अवरोध गरेका थिए । स्थानीयकै विरोधपछि संयुक्त टोली फिर्ता भएको थियो । त्यसपछि स्ट्रिप नक्सा खारेजीको माग गर्दै स्थानीय पटक–पटक डेलिगेसनसहित काठमाडौं पुगेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज