रुकुम पश्चिम / जाजरकोट–डोल्पा सडक खण्डअन्तर्गत भेरी नदीमा निर्माणाधीन बेलिब्रिज भाँचिँदा दुई भारतीय मजदुरको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार जाजरकोट र रुकुम जोड्ने आठबीसकोट नगरपालिका–४ तल्लु बगरस्थित भेरी नदीमा बन्दै गरेको १ सय २० मिटर लामो निर्माणाधीन बेलिब्रिजमाथिबाट क्रेन तार्न खोज्दा दुर्घटना भएको हो ।
प्रहरीका अनुसार बेलिब्रिज भाचिँदा भारत बहराइचका ४० वर्षीय प्रसुतमकुमार गौतम र ४० वर्षीय धर्मेन्द्र गौतमको मृत्यु भएको हो। उक्त दूर्घटनामा भारतको बहराइचका २५ वर्षीय सञ्जयकुमार गौतम, कुमार हरिजन चमार र बर्दिया गुलरियाका गोपाल हरिजन घाइते भएक छन् ।
हिमशिखर खड्का कृष्ण जेभीले ३ करोड ८४ लाख ठेक्कामा एक वर्षअघि देखि बेलिब्रिजको निर्माण शुरु गरेको थियो ।