हराएका सीमास्तम्भ खोज्न र मर्मत गर्न कार्यविधि बन्दै

काठमाडौँ / सरकारले भारततर्फका जीर्ण तथा हराएका अन्तर्राष्ट्रिय सीमास्तम्भ निर्माण, मर्मत र रंगरोगन गर्न सशस्त्र प्रहरी बल (एपीएफ) लाई ‘सीमा स्तम्भको मर्मतसम्भार र पुनस्स्थापनासम्बन्धी कार्यविधि’को मस्यौदा निर्माणको जिम्मा दिएको छ।

भारतसँग सीमा छुट्याउने करिब साढे ८ हजार स्तम्भमध्ये २ हजार ७ सय १६ स्तम्भ हराएका छन। १ हजार ५ सय ५६ जीर्ण र २ हजार ८ सय ९१ स्तम्भमा सामान्य क्षति पुगेको बताइएको छ । यसरी हराएका सीमाको खोजी र मर्मतसम्भार गर्नु पर्ने आवश्यकता देखेर सरकारले छुट्टै कार्यविधि ल्याउन लागेको हो ।

सरकारले ३ वर्षअघि परराष्ट्र मन्त्रालयका तत्कालीन सहसचिव यज्ञबहादुर हमालको नेतृत्वमा गृह र रक्षा मन्त्रालय तथा नापी विभागका अधिकारीसहितको सीमा निरीक्षण समिति बनाएर समस्या पहिचान एवं समाधानका उपाय पेस गर्न निर्देशन दिएको थियो ।

समितिलाई जीर्ण अवस्थाका सिमा स्तम्भको मर्मत र हराएकाको खोजबिन गर्न सशस्त्र प्रहरीलाई जिम्मा दिन सुझाव दिएको थियो ।गृह मन्त्रालयले मन्त्रिपरिषद्को यसअघिको निर्णयबमोजिम नै सीमा स्तम्भ नियमन, अनुगमन, मर्मत र रंगरोगन तथा संरक्षणका लागि कार्यविधि बनाउन लागिएको जनाएको छ ।

इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, रूपन्देही, बर्दिया र कञ्चनपुर गरी १५ जिल्लाका नेपाली भुभागमा भारतीय पक्षले सयौं बिघा जमिन भोगचलन गर्दै आएको र केही ठाउमा नेपाली पनि भारतीय भूभागमा गएर खेतीकिसानी गर्ने गरेको भेटिएको छ । मन्त्रालयका अनुसार इलाममा १४ ठाउँ, झापामा ४०, मोरङमा १८, सुनसरीमा २४, सप्तरीमा ११, सिरहामा २९, धनुषामा ३९, महोत्तरीमा २५, सर्लाहीमा १ सय २, रौतहटमा ६, बारामा ११, पर्सामा ३ सय २६, रूपन्देही, बाँके र दार्चुलामा १र१, बर्दियामा ९ र कञ्चनपुरमा ११ गरी ६ सय ६८ ठाउँमा भारतीयले नेपाली भूभागमा आएर भोगचलन गरिरहेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज