काठमाडौँ / यातायात व्यवस्था कार्यालय सुकेधारास्थित सवारी चालक अनुमतिपत्र कार्यालयका उपसचिव सुन्दर भट्टराईविरुद्व अख्तियार दुरुपयोग दुरुपयोग अनुसन्धान आयोगले १ करोड १५ लाख रुपैयाँ बिगो माग दाबीसहित विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
भट्टराईले सरकारी सेवा प्रवेश गरेयताको आम्दानी र उनको खर्चको हिसाब गर्दा उनको सम्पत्तिमध्ये १ करोड १५ लाख २९ हजार १९३ रुपैयाँको स्रोत नखुलेपछि आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसुरमा एक करोड १५ लाख २९ हजार १९३ रुपैयाँ माग दाबी सहित मुद्दा दायर गरेको हो ।
भट्टराईको सरकारी सेवा प्रवेश २०३८ साउन १ गतेदेखि २०७५ मंसिर मसान्तसम्मको वैध आम्दानी १ करोड ९२ लाख एक हजार ९२२ रहेको, तर उनको खर्च भने ३ करोड ७ लाख ३१ हजार ११६ रुपैयाँ ५ पैसा देखिएको अख्तियारले जनाएको छ । अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा ९२० बमोजिमको कैद तथा जरिवानाको सजाय माग गरेको छ ।