वैकल्पिक राजनीतिक शक्तिप्रति बढ्दो जनाकर्षण

काठमाडौं / केही वर्षअघि न्यूयोर्क टाइम्समा प्रकाशित फिलिप पी प्यानको आलेख ‘द ल्यान्ड द्याट फेल्ड टु फेल’ मा चीनले कसरी प्रगति ग¥यो भन्ने महत्वपूर्ण सन्दर्भ दर्शाएका छन् । सन ८० को दशकको मध्यतिर चिनियाँ कम्युनिस्ट पार्टीसँग आबद्ध केही युवा विद्यार्थीहरुको एउटा समूह सांघाइभन्दा अलिपर मोगानसानको पहाडमा भेला भए । उनीहरुको एउटै एजेन्डा थियो, चीनलाई कसरी अगाडि बढाउने भन्ने विभिन्न विषयमा अध्ययनरत विद्यार्थीसँग विज्ञता र अनुभव थिएन । थियो त ऊर्जा अनि उत्सुकता मात्र । उनीहरु अर्थतन्त्र डुब्नेमा चिन्तित थिए अनि पार्टी नेतृत्वलाई पनि सजय गराउँदै थिए । एकरात उनीहरुले एउटा प्रस्ताव राखे । उद्योगहरुले राज्यले तोकेको उत्पादनको न्यूनतम लक्ष्य पूरा गरेपछि उनीहरुले बाँकी सामान चाहेको पैसामा बेच्न पाउँछन् । यो तत्कालीन चिनियाँ अर्थतन्त्रको मोडलभन्दा पृथक प्रस्ताव थियो । यस विचारले त्यही कोठामा रहेका पार्टी अधिकारीहरुलाई समेत सोच्न बाध्य बनायो । यो विचार नै पछि चीनको आर्थिक क्रान्तिको कोसेढुंगा सावित भयो ।

त्यो टोलीले लामो समय देशको नीति एवं कार्यक्रमबारे पर्दा पछाडि मिलेर काम गरे । परिणाम देश पनि सफल भयो । अनि उनीहरु पनि सफल भए । त्यही कोठामा रहेका सुनचिङ केही वर्षपछि अर्थनीति विज्ञका रुपमा अगाडि आए । अर्का युवाले केन्द्रीय बैंकमा डेढ दशक नेतृत्व गरे । अर्का युवा अर्थमन्त्री बने । वान क्विन सान सबभन्दा सफल सावित भए । उनले सुरुमा कृषिविज्ञ भएर योगदान गरे र पछि चीनको पहिलो लगानी बैंकको नेतृत्व गरे । सन् १९९७ मा सुरु भएको एसियाको आर्थिक मन्दीबाट पनि देशलाई पार लगाए । उनी बेइजिङको मेयर हुँदै दोस्रो प्रमुख व्यक्तित्वको रुपमा चीनका उपराष्ट्रपति बने । मोगानसानको भेलामा सम्मिलित यी युवाको योगदान अनि नेतृत्वको चीनको विकासमा निकै ठूलो योगदान छ । यिनैले चीनको सफलताको नक्सा कोरे ।

सन् २००२ मा सिंगापुरका तत्कालीन प्रधानमन्त्री गोचेड तोडले राज्यका पाँच मान्यताहरुको घोषणा गरे । समुदायभन्दा माथि राष्ट्र, व्यक्तिभन्दा माथि समाज, व्यक्तिलाई सम्मान, द्वन्द्वको बदला सहमति, जातीय प्रादेशिक सामञ्जस्य । यिनै मान्यताहरुमा सिंगापुर अघि बढिरहेको छ । शान्त र समृद्ध छ सिंगापुर अनि बेहद खुसी छन् त्यहाँका नागरिक । प्रशासनको नमुना छ सिंगापुर । एसिया महादेशको सुदूरपूर्वमा अवस्थित, ब्रिटिश साम्राज्यको सामुद्रिक भूमिकाका रुपमा रहेको सिंगापुर मलेसियाली महासंघबाट सन् १९६५ मा स्वतन्त्र राष्ट्र बनेको हो । ली क्वान युले फ्रम थर्ड वल्र्ड शीर्षक पुस्तकमा सुरुआती दिनका संकटबारे लेखेका छन्— स्वतन्त्रतापछि स्वाधीन भएर बाँच्न निकै संघर्ष गर्नुप¥यो । सिंगापुर वास्तवमा नयाँ देश थिएन यो त तत्कालीन ब्रिटिश साम्राज्यले निर्माण गरेको एउटा सामुद्रिक व्यापारी केन्द्र र मानव निर्मित देश थियो । हामीले बन्दरगाह बिनाको टापु हात पा¥यौं, जसलाई शरीर बिनाको मुटुभन्दा फरक पर्दैन । मलेसियाबाट छुट्टिँदा प्रतिव्यक्ति आय १००० डलर भएको सिंगापुरको अहिले प्रतिव्यक्ति आय ८०००० डलर पुगेको छ जुन आफैंमा ठूलो चमत्कार हो ।

असाधारण प्रतिभा भएका नेताहरुले जस्तोसुकै प्रतिकूलतामा पनि चमत्कारिक विकास गर्न सक्छन् भन्ने उदाहरण ली क्यान युले दिएका छन् । सिंगापुर कसरी सफल मुलुक बन्यो भनेर कसैले सोधे मेरो एउटै शब्दमा उत्तर हुन्छ,— दृढ विश्वास । ली क्वान युले भनेका छन् । सिंगापुर वित्तीय केन्द्र बन्ने आधार नै कानुनी शासन, स्वतन्त्र न्यायपालिका, स्थिर, सक्षम र इमानदार सरकार अनि नीतिगत स्थायित्व नै हुन् । ली क्वान युको पिपुल्स एक्सन पार्टीले सिंगापुरमा सुशासनका लागि अभियान चलायो । सुशासनका सबै सूचकमा सिंगापुर सन् १९९६ देखि २०१६ सम्म सय प्रतिशत प्राप्तांश प्राप्त गरिरहनु चानचुने उपलब्धि होइन । अख्तियारको दुरुपयोग र तजबिजी अधिकारको दुरुपयोग हुने क्षेत्रमा विशेष निगरानी राख्दै अनियमितता रोक्न सबै संयन्त्र परिचालन गरेर सिंगापुरले भ्रष्टाचार नियन्त्रणमा अतुलनीय सफलता हासिल गर्न सकेको छ । राजनीति, कर्मचारीतन्त्र, निजी व्यवसाय र विद्यालयहरुमा योग्यतातन्त्रको अवलम्बन सिंगापुरको सफलताको आधार मानिन्छ ।

जनताका विश्वासका मुख्य बाहक भनेका राजनीतिक नेतृत्व नै हुन् भने त्यसपछि सार्वजनिक पदाधिकारीहरु र सुशासनका अन्य पात्र । यी सबैले जनताको हितका पक्षमा इमानदार प्रयास गरेमा देशमा सुशासन कायम गर्न धेरै समय लाग्दैन । तर हामीकहाँ परम्परागत ठूला दलहरु र तिनको नेतृत्वले प्रियतावादी उत्ताउलो कामबाहेक अरु गरेनन् । प्रणाली बसाएर सुशासन दिन सकेनन् । हितोपदेशमा भनिएको छ— ‘जहाँ जीविका, अभय, लज्जा, सज्जनता एवं उदारता हुँदैन त्यहाँ बस्नु हुँदैन ।’ सुशासनको लगाम समाउने नेताहरुले जनतामा नैराश्यता उत्पन्न गराएकैले मतदाताले ब्यालेटमार्फत विद्रोह सुरु गरेका हुन् । ली क्वानको यो भनाइ प्रेरणादायी छ— ‘सिंगापुरमा स्वच्छ, निष्पक्ष, धाँधलीरहित र पैसा बिनाको चुनावले सरकारलाई इमानदार रहन सहयोग गरेको छ । तर सिंगापुर त्यतिबेलासम्म इमानदार र स्वच्छ रहनेछ जतिबेलासम्म सक्षम र इमानदार व्यक्ति नै निर्वाचित हुन्छन् र सरकारमा जान्छन् ।

लुई चौधौंले ‘म नै राज्य हुँ’ भने । लुई पन्ध्रौंले ‘म मरेपछि प्रलय होस्’ भने । रुसका जार निकोलस द्वितीयले ‘मेरा चिरस्मरणीय बाबुले जस्तै निरंकुशताको पालना गर्नेछु’ भनेर निरंकुशताको तरबार चलाए । तत्कालीन हँगेरीको सत्तामा राज गरेका क्रुर शासक अट्टिला द हुन्’ भन्ने गर्थे— मैले पाइला राखेको जमिनमा उप्रान्त घाँस उम्रन पनि डराउँछ । पोलपोट, इदि अमिन, एनबर होक्सा, आयनस्मिथ, बेनिटो मुसोलोनी, एडल्फ हिटलर, अगस्टो पिनासे, निरो क्लाउडियस, मार्कोस, सुहार्तो, मोबुतु, डुम्यलियर जस्ता क्लेप्टोक्रेसहरुले राष्ट्रको ढुकुटी नै डकैत गरेर देशलाई कंगाल बनाए । लोकतन्त्रको नाम जपेर कुशासन ल्याउने नेता असंख्य छन् । राज्य, निजी क्षेत्र, राजनीतिक दलदेखि नागरिक समाजसम्मको भूमिकाले देशको सुशासन निर्धारण हुन्छ । यीबाहेक अनौपचारिक सल्लाहकार, किचेन क्याबिनेट, स्वार्थ समूहहरुले सुशासनलाई आकार दिन महत्वपूर्ण भूमिका खेल्ने गर्छन् । संगठित आपराधिक सिन्डिकेट र शक्तिशाली व्यापारिक घरानाहरुले यसलाई कमजोर त पार्ने गर्छन् तर दूरदर्शी नेताहरु रुपान्तरणकारी नेतृत्व दिएर परिवर्तनका सहयोगी मात्र बन्दैनन् सफल रुपमा राज्यका सबै संस्थाहरुलाई पुनः आकार दिन र पुनः आविष्कार गर्न सक्षम हुन्छन् । यिनीहरु इतिहासका पात्र मात्र हुँदैनन्, इतिहास नै निर्माण गर्छन् । तर दुर्भाग्य भन्नुपर्छ नेपाल र नेपालीले यस्तो राजनेता कहिल्यै पाएनन् । कुनै पनि नेताहरुसँग देश बनाउने कुनै मिसन, भिजन र डेडिकेसन देखिएन । परम्परागत ठूला दलमा आइडल र आइडोलोजी छैन । मूर्खबाट होइन बेइमानबाट शासित भएका छन् जनता । स्लोभेनियन दार्शनिक जिजेक भन्छन्— जब राजनीति भ्रष्ट हुन्छ जनताको जीवन तहसनहस हुन्छ । नेपालमा अहिले यही भइरहेको छ ।

पार्टी भनेको जनस्तरबाट गठित राजनीतिक सहकारी हो । जनता नेता र कार्यकर्ताको सामूहिक गठबन्धन नै पार्टी हो । पार्टीमा लगानी भएको हैसियतले पार्टी माथिको स्वामित्व र सम्पत्तिमाथिको विशेषाधिकार पनि जनता र कार्यकर्ताप्रति उत्तरदायी बन्न पुग्छन् र नेतृत्व व्यक्तिवादी निरंकुश बन्न पाउँदैन । विचार र राजनीति भनेको कार्यदिशा र कार्यक्रमको उचित संयोजन हो । कार्यक्रम छ तर कार्यदिशा छैन भने त्यो पार्टी दीर्घकालसम्म टिक्न सक्दैन । न त त्यसले विशाल आकार नै लिन सक्छ । पार्टी ठूलो हुन व्यापक जन सम्बन्ध, जनकार्यशैली जनउत्तरदायी पारदर्शी नेता र कार्यकर्ताहरुको विशाल जमात आवश्यक हुन्छ । यो पूरा हुन पार्टीसँग सही विचार, पार्टीप्रति जनताको अपार विश्वास र भरोसा कायम हुनुपर्छ । परम्परागत ठूला दलहरु कांग्रेस, एमाले, माओवादी केन्द्र विस्तारै विघटनको दिशातिर जाँदैछन् भन्ने संकेत हालैको उपनिर्वाचन परिणामले गरेको विश्लेषण गर्न थालिएको छ । यसो हुनुमा यी दलहरुप्रति जनताको विश्वास र भरोसा उठ्दै गएको देखिँदैछ ।

०४६ सालको राजनीतिक परिवर्तनपछि कांग्रेस र एमालेले पालैपालो देश लुटे । ०६४ देखि त्यसमा माओवादीहरु पनि हिस्सेदार बने । देश झन् कंगाल बन्दै गयो । जनता आश्वासन होइन परिणाम चाहन्छन् । जनताले राष्ट्रिय स्वतन्त्र पार्टीलाई विकल्पको रुपमा लिनुपर्ने अवस्था यही कारणले आएको हो । भ्रष्टाचारमुक्त सुशासन, जनजीविकाको ग्यारेन्टी, विकास समृद्धिको नारा दिएको रास्वपाप्रति जनसुनामी नै प्रकट भएको छ । जनतामा व्याप्त नैराश्यतालाई क्यास गर्दै उक्त पार्टीले बजाएको घन्टीले परम्परागत ठूला दललाई सिध्याउने संकेत देखिएको छ । जनता दलकै दास त हुन । हामीले भनेपछि मानिहाल्छन् भन्ने देउवा, ओली, प्रचण्डहरुलाई मतदाताले ब्यालेट विद्रोह गरेर चोटिलो झप्पु हानेका छन् । अब यी नसुध्रिए आउने निर्वाचनमा सिद्धिने उपनिर्वाचनले संकेत गरेको छ । ४ मंसिरको चुनावमै राम्रो छनक देखाएको रास्वपाले उपचुनावमा पाएको जनसमर्थन चमत्कारिक रहेको छ । यस किसिमको परिणाम आउनुमा रास्वपाका युवा नेताहरुप्रति मतदाताको भरोसा त हो नै कांग्रेस र एमाले जस्ता पुराना पार्टीप्रतिको मोहभंग र वितृष्णालाई पनि बिर्सन सकिँदैन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज