राजनीतिक तहलाई किन छुदैन प्रहरी ?

काठमाडौं / नक्कली भूटानी शरणार्थी बनाएर नेपाली नागरिकलाई अमेरिका पठाउने भन्दै ठगी गर्ने गिरोहमा संलग्न रहेको आरोपमा प्रहरीले पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार सुरक्षाविद् डा. इन्द्रजित राईलाई मात्र किन पक्राउ ग¥यो ? पूर्वगृहमन्त्री थापालाई भने किन उन्मुक्ति दियो भन्ने प्रश्न सर्वसाधारण नागरिकहरुले उठाउन थालेका छन् । इन्द्रजित त बादलका सल्लाहकार मात्र हुन् । उनको सल्लाह पूर्वगृहमन्त्री थापाले माने कि मानेनन् ? प्रहरी किन खोजी गर्दैन ? एकजना सुरक्षा सल्लाहकारले त्यत्रो सेटिङ गृहमन्त्रीको चासो बिना कसरी गर्न सक्छ ? अमेरिका पठाउने ठगी गिरोहमा तत्कालीन गृहमन्त्री थापाको संलग्नतालाई प्रहरीले mनजरअन्दाज गर्न मिल्दैन । थापाको स्वीकृतिबिना उनका सल्लाहकारले गृह मन्त्रालयमा सहजीकरण गर्न सक्दैनन् । गहमन्त्री, सचिव, सुरक्षा सल्लाहकार सबैको मिलिभगतमा नै नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने साजिस भएको हो भन्ने कुरा दिनको घामजस्तै छर्लंग छ ।

रामबहादुर थापा बादल मात्र होइन एमाले नेता टोपबहादुर रायमाझी र कांग्रेस नेतृ सुजाता कोइरालाको पनि गिरोहमा प्रत्यक्ष संलग्नता देखिएकोमा सायद प्रहरी अनभिज्ञ छैन । केशव दुलाललाई गिरोहको मुख्य नाइके मानिएको छ । उनी सुजाता कोइरालाका तत्कालीन सचिवालय सदस्य हुन् । सुजाता किचेन क्याबिनेटका मान्छे । दुलालको सम्बन्ध सुजातासँग अहिले पनि हार्दिकतापूर्ण नै छ । नक्कली शरणार्थी खोज्ने मात्र हुन् दुलाल । नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने आँट गर्ने मूल गिरोह तत्कालीन गृहमन्त्री थापा, टोपबहादुर रायमाझी, सुजाता कोइराला मुख्य हुन् । उनीहरु नेपथ्यमा रहेर काम गरेको प्रस्ट छ । दुलाल, सानु भण्डारी, अशोक पोखरेल, सन्देश शर्मा, सागर राई, टंक गुरुङसँग मिलेर आर्थिक लेनदेन गर्ने रामबहादुर थापाका छोरा, रायमाझीका छोरा, इन्द्रजितका छोराहरु हुन् । इन्द्रजितको छोरालाई प्रहरी पक्रन खोज्दैछ । रामबहादुर, टोपबहादुरका छोराहरुलाई किन प्रहरी पक्रन खोज्दैन ? जबकि टोपबहादुरका छोराको नाममा डेढ करोडको चेक प्रहरीले भेटिसकेको छ । प्रहरी संगठन राजनीतिक नेतृत्वको दबाबमा छ । अवकाश हुनासाथ प्रहरी उच्च अधिकृतहरु राजनीतिक दलमा सामेल भएर चुनावमा टिकट लिएर उठ्छन् । उनीहरुले प्रहरी संगठनमा रहुन्जेल त्यही पार्टीको बफादारी गरेका कारण पार्टीले टिकट दिन्छ । नवराज सिलवाल सर्वेन्द्र खनाललाई हेरे पुग्छ ।

नब्बेको दशकमा दक्षिणी भुटानबाट झन्डै लाखको संख्यामा नेपाली भाषी भुटानीहरुलाई त्यहीँको जिग्मे सिग्मे वाङ्चुकको शाही फौजले लखेट्यो । थातबास खोसिएका भुटानीहरुलाई भारत सरकारले ट्रकमा लोड गरेर मेची पुल कटाइदियो । भारतकै प्रत्यक्ष संलग्नतामा नेपाली भाषी भुटानीहरुको उठिबास गरियो । भुटान भारतको संरक्षित राज्य भएकाले भारतको चाह बिना भुटान एक्लैले यस्तो दुस्साहस गर्न सायद सक्दैनथ्यो । भुटानको परराष्ट्र र सुरक्षानीति भारतले नै तय गर्ने गर्छ । नेपाली भाषी भुटानीहरुबाट भुटानको सुरक्षामा भारतले के खतरा महसुस ग¥यो र भुटानी नेपालीहरुलाई उठिबास लगायो भन्ने कुरा भारतले अझै बताएको छैन ।

नेपालमा आश्रय लिएका भुटानीहरुले स्वदेश फर्कनका लागि अथक प्रयास गरे पनि सफल भएनन् । बरु उनीहरुलाई अमेरिका लगायत पश्चिमा मुलुकहरुमा स्थान्तरण गरियो । तिब्बती शरणार्थीलाई नेपालमै राख्ने भुटानी शरणार्थीहरुलाई भने आआफ्ना देशमा लान पश्चिमा मुलुकहरु राजी भए । तिब्बती शरणार्थीहरुबाट चीन विरोधी आन्दोलन जब गराउनु छ भने अमेरिका लगायत उसका पिछलग्गु पश्चिमा देशहरुले किन उनीहरुलाई स्थान्तरण गर्थे ? प्रायशः भुटानीहरु अमेरिका लगायत विभिन्न देशमा लगिए । तेस्रो देश पुनर्वास जान नपाएका भुटानी शरणार्थीहरु अझै धेरै छन् । उनीहरुका समस्या समाधानका लागि २०७६ असार २९ गते केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले २०७६ असार २९ गते मन्त्रालयका सहसचिव बालकृष्ण पन्थीको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । सो कार्यदलको प्रतिवेदन हालसम्म सार्वजनिक गरिएको छैन ।

तर त्यो प्रतिवेदन केशव दुलालहरुको हातमा प¥यो । उनीहरुले प्रतिवेदनका उपसूची थपेर छुटेका तेस्रो मुलुकमा जान चाहने शरणार्थी भन्दै नक्कली सूची तयार पारे । सो सूचीमा झापा, मोरङ, सुनसरी, गोरखा, कास्की, बाग्लुङ, अर्घाखाँची दाङ लगायत जिल्लाका ८ सय ७५ जना नेपाली नागरिकको लिस्ट तयार पारे । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने सूचीमा राखेका व्यक्तिबाट जनही १० देखि ५० लाखसम्म गिरोहले उठायो । कयौंलाई शरणार्थीका रुपमा नक्कली कार्डसमेत बनाइदिए । दुलाल लगायत टोपबहादुर रायमाझीका छोरा सन्दिप, इन्द्रजितका छोरा निरज, रामबहादुर थापा बादलका छोरा प्रतीकहरु पैसा उठाउने गिरोहमा सामेल भए । छोरो के गर्दैछ भन्ने कुरा के तत्कालीन गृहमन्त्री थापालाई थाहा थिएन ? करोड पैसा ल्याएर छोराले श्रीमती नैनकलालाई दिएको कुरा के श्रीमतीले थापालाई मानेनन् होला । यी सबैलाई प्रहरीले समाएर अनुसन्धान गरे थप रहस्य अवश्य उजागर हुनेछ ।

आश्चर्य के छ भने राजनीतिक तहको संरक्षण प्राप्त कुनै पनि काण्डमा न त अख्तियारले अनुसन्धान गर्छ न प्रहरीले । नक्कली भुटानी शरणार्थी बनाउने गिरोहलाई संरक्षण गर्ने तत्कालीन गृहमन्त्री रामबहादुर थापा, टोपबहादुर रायमाझी, सुजाता कोइरालाहरुलाई प्रहरीले छुन नसक्नु विडम्बनापूर्ण छ । टोपबहादुर र सुजाताको बढ्दो हिमचिमलाई धेरैले बुढेशकालको इस्क भनेर पनि गिज्याउँथे । तर चुरो कुरा मानव तस्करी रहेछ भन्ने अहिले बल्ल खुलेको छ । आफू स्पोटमा नदेखिने तर छोराहरुलाई उतारेर पैसा कुम्ल्याउने धन्दा गर्ने बादल, रायमाझी, सुजातालाई प्रहरीले पक्रन हिम्मत गर्नुपर्छ ।

तत्कालीन गृहमन्त्री थापाका सुरक्षा सल्लाहकार इन्द्रजितले ५ करोड भागी पाए भने गृहमन्त्रीले कति लिए होलान् ? टोपबहादुर, सुजाताले कति बुझे ? सुजाता पहिले परराष्ट्रमन्त्री हुँदा पनि युवाहरुलाई विदेश पठाउने धन्दामा मुछिएकी हुन् । उनका तत्कालीन स्वकीय सचिव भरत सापकोटाले यस्तो खेती गरेका थिए । सुजाताको चाख बिना भरतले यस्तो काम गर्ने हिम्मत अवश्य गरेका थिएनन् । त्यसबेला मुलुकमा गिरिजा कोइरालाको रापताप थियो । भरत पक्राउ परेनन् । सुजातालाई त कसले औंला ठड्याउन सक्ने ? टोपबहादुर ऊर्जामन्त्री हुँदा कसरी घूस खान्थे विद्युत्का पूर्व हाकिमहरुलाई सोधे पुग्छ । भ्रष्ट घुस्याहा हुँदाहुँदा नेपाली नागरिक नै बेच्ने यिनीहरुलाई प्रहरीले पाता फर्काएको हेर्न नागरिकहरु उत्सुक छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज