काठमाडौं । आज देशभर छठ पर्व मनाइँदै छ । छठ पर्वका अवसरमा साँझ अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ्य दिएर बर्तालुले आज रातभर जाग्राम बसि सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर यो पर्व मनाउने गर्छन । विधिपूर्वक छठको व्रत गर्नाले इच्छागरिएको फल पाइने, परिवारको कल्याण हुने र आफ्ना सम्पूर्ण दुःख र कष्ट हटेर जाने जनविश्वास छ ।
विशेष गरी मुलुकको तराई मद्येशमा छठमा कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने यस पर्वमा सूर्यदेवको आराधना, उपासना र पूजा गरि यो पर्व मनाइने गरिन्छ । तर पछिल्लो समय पहाडी क्षेत्रमा समेत यो पर्व मनाउने प्रचलन शुरु भएको पाइन्छ । छठ पर्व मनाउनका लागि नदी, खोला, पोखरी सिँगारिने गरिन्छ । राजधानीमा समेत यो पर्व धुमधामका साथ मनाइन्छ । माटोबाट बनाइएको कलश, दियो, हात्ती, बाँसको चोयाबाट बुनिएको परम्परागत भाँडाकुँडा नाङ्लो, दाउरा, सुपली, छैँटी, ढकनीबाट पूजास्थल सजाउने गरिन्छ ।
ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस भनी सूर्यदेवलाई आराधना गरिएको थियो । त्यस समयमा पाण्डवहरू विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोककथन बमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो ।
सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको सुरुआत भएको तथ्य सूर्य पुराणमा उल्लेख छ।