विश्वकप क्रिकेटमा अस्ट्रेलियाको सानदार जित

काठमाडौं । नरेन्द्र मोदी स्टेडियममा भएको फाइनलमा भारतमाथि ६ विकेटको सानदार जित निकाल्दै अस्ट्रेलियाले आइतबार छैटौंपल्ट विश्वकप क्रिकेट जितेको छ । अस्ट्रेलियाको जितमा ओपनर ट्रेभिस हेडले १ सय ३७ रनको उत्कृष्ट इनिङ्सले महत्वपूर्ण योगदान दियो ।

जितका लागि २ सय ४१ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया ४ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । अस्ट्रेलिया एकदिवसीय क्रिकेटको विश्व च्याम्पियन भएको यो छैटौंपल्ट हो । छ पटकसम्म विश्व विजेता बन्ने अस्ट्रेलिया पहिलो मुलुक हो । अस्ट्रेलिया जितसम्म पुग्दा ७ ओभरको खेल बाँकी थियो ।

यस विश्वकपमा भारतले पहिलो हार ब्यहोर्दै उपविजेतामा चित्त बुझाउनु पर्याे । अस्ट्रेलिया पछिल्ला ९ खेलमा लगातार विजयी रहेको छ । हेडले १ सय २० बल खेलेर १५ चौका र ४ छक्का हान्दै १ सय ३७ रन बनाएका थिए । हेडले मार्नस लाबुस्यानसँग चौथो विकेटका लागि निर्णायक १ सय ९२ रनको साझेदारी गरेका थिए ।

लाबुस्यान १ सय १० बलमा ५८ रन बनाएर नटआउट रहे । त्यसमा ४ चौका सामेल थियो । खेलको अन्त्यतिर हेड आउट भएपछि ग्लेन म्याक्सवेल क्रिजमा आएका थिए । उनले विजयी रन बटुले । भारतीय बलरमध्ये जसप्रित बुमराहले २ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा सबै विकेट गुमाई २ सय ४० रन बनाएको थियो ।

केएल राहुल र विराट कोहलीले आ–आफ्नो अर्धशतक पूरा गरेका थिए । तर त्यो ठूलो स्कोर खडा गर्न पर्याप्त रहेन । राहुलले १ सय ७ बल उपयोग गर्दै ६६ रन बनाए । उनले यस क्रममा एकै चौकामात्र प्रहार गरे । कोहलीले भने ६३ बल सामना गर्दै ४ चौका प्रहार गरेर ५४ रन बनाए । ओपनर तथा कप्तान रोहित शर्माले ३१ बलमा ४७ रन बनाएका थिए । सुरुदेखि आक्रामक देखिएको उनले ४ चौका र ३ छक्का प्रहार गरे ।

अस्ट्रेलियाली बलरमध्ये मिचेल मार्सले ५५ रनमा ३ विकेट लिए । जोस हेजलउड र कप्तान प्याट कमिन्सले समान दुई विकेट लिए । घरेलु भूमिमा हारसँगै भारतको सन् २०१३ यता पहिलो ठूलो उपाधि जित्ने सपना अधुरो नै रह्यो । त्यो वर्ष भारतले च्याम्पियन्स ट्रफी जितेको थियो । हेडको शतक विश्वकपको फाइनलमा सातौं रह्यो । फाइनलमा अस्ट्रेलियाली ब्याटरले बनाएको यो तेस्रो शतकमात्र हो । यसअघि रिकी पोन्टिङले सन् २००३ र एडम गिलक्रिस्टले सन् २००७ को फाइनलमा शतक बनाएका थिए ।

पछिल्लो सेप्टेम्बर दक्षिण अफ्रिका भ्रमणका क्रममा हेडको हातमा चोट लागेको थियो र उनको विश्वकप खेल्ने सपना जोखिममा थियो । तर, अस्ट्रेलियालाले उनलाई टिममा राख्ने निर्णय गरेको थियो । लिग चरणको छैटौं खेलमा पनि हेडले न्युजिल्यान्डविरुद्ध निर्णायक साबित शतक प्रहार गरेका थिए । दक्षिण अफ्रिकाविरुद्ध कोलकातामा प्राप्त सेमिफाइनल जितमा पनि उनले बहुमूल्य ६२ रन बनाएका थिए ।

प्लेयर अफ द म्याच ट्रेभिस हेड भए भने प्लेयर अफ द सिरिजको उपाधि भारतका विराट कोहलीले प्राप्त गरेका थिए । उनले यसै विश्वकपमा आफ्नो ५० औं शतक पूरा गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज