काठमाडौं /नेपाली कांग्रेसले प्रतिनिधिसभाका ३२ समानुपातिक सांसदको नाम टुंगो लगाएको छ । कांग्रेसले पाएको ३२ समानुपातिक सिटमा २९ महिला र ३ पुरुष रहेका छन्। शनिबार बसेको पदाधिकारी बैठकले समानुपातिक सांसद टुंगो लगाएको नेता रामचन्द्र पौडेलले बताए।
उनका अनुसार समानुपातिकतर्फ सांसद बन्ने तीन पुरुषमा दलितबाट जीवन परियार, मधेसीबाट विमलेन्द्र निधि र खसआर्यबाट प्रकाशरण महत चयन भएका छन्। पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले दिएको जिम्मेवारी अनुसार सभापति शेरबहादुर देउवाले समानुपातिक सांसदको टुङ्गो लगाएको जनाइएको छ। नेपाली कांग्रेसले समानुपातिकतर्फ ३२ सिट पाएको थियो। संघीय संसदमा महिलाको प्रतिनिधित्व ३३ प्रतिशत पुर्याउनुपर्ने बाध्यकारी प्रावधान छ।
प्रतिनिधिसभामा समानुपातिकतर्फबाट सांसद हुने महिलाहरूमा प्रधानमन्त्री पत्नी आरजु देउवा राणा र गृहमन्त्री बालकृष्ण खाणकी पत्नी मञ्जु खाण समेत छन्। त्यस्तै, खस आर्यबाट अम्बिका बस्नेत, सरिता प्रसाईं, आरजु राणा देउवा, ईश्वरी न्यौपाने, प्रतिमा गौतम, मञ्जु खाण, रमा कोइराला पौड्याल, कान्तिका सेजुवाल, मैना रावलल चयन भएका छन्। यता, आदिवासी जनजातितर्फ सरस्वती बजिमय, लिलादेवी लिम्बु, सीताकुमारी राना, सुशीला थिङ, सपना राजभण्डारी, माया राई, कुसुम थापामगर, मनोरमा शेरचन, अञ्जनी श्रेष्ठको नाम आयोगमा पठाइएको छ। दलितबाट शान्ति विक, रुपा विक, सीता मिजार, आशा विक चयन भएका छन्।
मधेशीतर्फ नगिना यादव, मुक्ताकुमारी यादव, चन्दा चौधरी, संगीता मण्डलको नामा आयोगमा पठाएको छ भने मुस्लिमबाट जावेदा खातुन जागा, थारुबाट कल्पना चौधरी र बिनाकुमारी थनेत सांसद चयन भएका छन्।