काठमाडौं / आइतबार पार्टी कार्यालय सानेपामा बसेको नेपाली कांग्रेसको कार्य सम्पादन समिति बैठकले आफ्नै नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको छ।
बैठकले आफ्नै नेतृत्वमा सरकार बनाउनेगरी सक्रिय हुने निर्णय गरेको प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए । कांग्रेस नेतृत्वमा आगामी सरकार गठनका लागि गठबन्धनका दलका साथै अन्यसँग पनि संवाद र वार्ता अघि बढाउने निर्णय गरिएको उनले जानकारी दिए। ‘नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठनका लागि गठबन्धन दलहरुलगायत अन्य दलहरुसँग समेत संवाद र वार्ता प्रारम्भ गर्ने निर्णय भएको छ,’ उनले भने ।
यसैगरी, संसदीय दलको नेता चयनका लागि सहमहामन्त्री भीष्मराज आङदाम्बेको नेतृत्वमा समिति गठन गरिएको छ। प्रदेश संसदीय दलको नेता चयनका लागि पनि निर्देशन दिने निर्णय कांग्रेसले गरेको छ।
यस्तै, सरकार गठन प्रक्रियामा पनि अघि बढ्न निर्देशन दिने र सक्रिय हुने निर्णय बैठकले गरेको उनले बताएका छन्।