तत्काल नीति महाधिवेशन बोलाउन महामन्त्रीद्वय थापा र शर्माको माग

काठमाडौँ / नेपाली काँग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले तत्काल नीति महाधिवेशन गर्नुपर्ने माग गरेका छन् । महामन्त्रीद्वयले पुस २२ बाट हुने पार्टीको केन्द्रीय कार्यसमिति बैठकमै नीति महाधिवेशनको मिति र स्थान तोक्न जोड दिएका छन् ।

राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा शनिबार थापा र शर्माले संयुक्त विज्ञप्ति निकाल्दै सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पदको स्वार्थ नछाड्दा कांग्रेस राज्यसत्ताका सबै पदबाट विमुख बन्न पुगेको भन्दै नेता तथा कार्यकर्ताबाट असन्तुष्टि व्यक्त भइरहेका बताउँदै पार्टीको नीति योजना र कार्यक्रम तय गर्न नीति महाधिवेशन आवश्यक रहेको बताएका हुन।

सभापति देउवा भने नीति महाधिवेशन बोलाइहाल्ने मनस्थितिमा देखिँदैनन् । सभापति पार्टीभित्र रक्षात्मक अवस्थामा छन् । सभापति देउवाले केन्द्रीय कार्यसमिति बैठकमा सदस्यहरूको प्रस्तुति हेरेर पनि नीति महाधिवेशन बोलाउने कि नबोलाउने भन्ने निर्णय लिन सक्ने आँकलन गरिएको छ ।

महामन्त्री थापा र शर्माले वर्तमान नेतृत्वबाट पार्टी चल्न नसक्ने निष्कर्ष निकालेका छन् । त्यसका लागि देउवा स्वेच्छाले सक्रिय राजनीतिबाट अलग हुनुपर्ने उनीहरूको धारणा छ । अरू प्रक्रियाबाट देउवालाई हटाउन कठिन छ ।

संस्थापन इतरपक्षका कतिपय नेताले भने विशेष महाधिवेशन बोलाउनुपर्ने माग उठाइरहेका छन् । पार्टी विधानमा सभापतिविरुद्ध पार्टीका निर्वाचक (महाधिवेशन प्रतिनिधि) को २५ प्रतिशत सदस्यले अविश्वास प्रस्ताव दर्ता गर्न सक्ने प्रावधान छ । प्रस्ताव दर्ता भए ६० दिनभित्र निर्वाचकको बैठक वा अधिवेशन बोलाउनुपर्छ ।

अविश्वास प्रस्ताव पारित गर्न दुई तिहाइ संख्या चाहिन्छ । देउवाविरुद्ध दुई तिहाइ संख्या पुर्‍याउन जटिल पर्ने भएकाले यो बाटो जाने सम्भावना कम छ । यसले पार्टीभित्र विभाजनको आयतन अझै बढाउने भएकाले पनि थापा, शर्मालगायतका नेताले विशेष महाधिवेशनभन्दा नीति महाधिवेशनमै जोडबल गरिरहेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज