अब सांसदको विद्युतीय हाजिरी

काठमाडौं / संघीय संसद्का सांसदका लागि पहिलोपटक विद्युतीय हाजिरीको व्यवस्थापन गरिएको छ । संसद् सचिवालयले राष्ट्रिय सभामा विद्युतीय हाजिरी लागू गर्न परीक्षण थालेको हो । प्रतिनिधिसभामा भने सभामुख चुनिएपछि व्यवस्थापन गरिने सचिवालयले जनाएको छ ।

सांसदले यसअघि हाजिरी पुस्तिकामा हाजिर गर्दै आएका थिए । संसद्लाई पेपरलेस बनाउने अभियानअन्तर्गत विद्युतीय हाजिरी व्यवस्थापन गरिएको र सचिवालयले राष्ट्रिय सभा सदस्यहरूको फिंगर प्रिन्ट लिँदै विद्युतीय हाजिरी परीक्षण गरिरहेको सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले बताए ।

संघीय संसद्का महासचिव भरतराज गौतमले दलहरूबाट निर्णय भए प्रतिनिधिसभामा पनि विद्युतीय हाजिरी लागू गर्न समस्या नभएको बताए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले २५ पुस दिउँसो १ बजे संघीय संसदको अधिवेशन आह्वान गरेकी छिन् । त्यसअघि एजेन्डा तय गर्न सर्वदलीय बैठक बस्दै छ । बैठकले अन्तरिम नियमावली, सिट व्यवस्थापन, प्रधानमन्त्रीको विश्वासको मत र सभामुखको निर्वाचनलगायत एजेन्डा तय गर्ने ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले बताए । अधिवेशन आह्वानसँगै राष्ट्रिय सभामा सांसदको विद्युतीय हाजिरी प्रारम्भ हुने र प्रतिनिधिसभामा सभामुख चयनपछि कार्यान्वयनमा आउने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज