काठमाडौँ / नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहालले सांसदबाट विश्वासको मत पाएका छन् । उनलाई २६८ सांसदले विश्वासको मत दिएका छन् । संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्रीमा नियुक्त भएका दाहालले मंगलबार संविधानको धारा ७६ (४) को व्यवस्थाबमोजिम प्रतिनिधिसभाबाट विश्वासको मत लिएका हुन् । संविधानको धारा ७६ (४) ले उपधारा २ र ३ बमोजिम नियुक्त भएको प्रधानमन्त्रीले मनोनित भएको तीस दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ ।
नेपाली काँग्रेस सहितको सत्तागठबन्धन छाडेर एमाले सहित सात दलसँग नयाँ गठबन्धन गर्दै दाहाल पुस १० गते प्रधानमन्त्री नियुक्त भएका थिए । दाहाललाई सात दल र ३ स्वतन्त्र सांसद सहित १६९ सांसदको समर्थन थियो ।
नेपाली कांग्रेसले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिन हृवीप नै जारी गरेको थियो ।
प्रतिनिधिसभामा २७५ सदस्य छन् । त्यसमध्ये एक सांसद निलम्बित छन् भने राप्रपा सांसद पशुपति शमशेर जबरा बैठकको अध्यक्षता ग्रहण गरेकाले मतदानमा सहभागी भएनन् । मंगलबार भएको मतदानमा २७० सांसदमात्रै सहभागी भएका थिए । दाहालले २६८ मत पाएका छन् भने विपक्षमा २ मत खसेको छ । नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल र राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीबाहेक सबै दल र स्वतन्त्र सांसदहरूले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएका छन् ।