सातै प्रदेशमा बन्यो नयाँ सरकार

काठमाडौँ /नयाँ सत्ता समीकरणसँगै सातवटै प्रदेशमा नयाँ सरकार बनेका छन् । मंसिर ४ मा सम्पन्न निर्वाचनमा सबै प्रदेशमा कुनै पनि दलको स्पष्ट बहुमत नआएपछि संविधानको धारा १६८ (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समथर्नमा मुख्यमन्त्री नियुक्त भएका छन् ।

नयाँ सत्ता समीकरणका कारण चारवटा प्रदेशमा ठूलो दल भएर पनि कांग्रेस प्रतिपक्षमा सिमित भएको छ भने नेकपा एमाले संघ र प्रदेशमा सत्ता साझेदारी गर्न पुगेको छ । यसपटक राप्रपा, जनमत र नागरिक उन्मुक्ति पार्टी पहिलो पटक प्रदेश सरकारमा सहभागि भएका छन ।

प्रदेश १
प्रदेश १ मा एमालेका हिक्मतकुमार कार्कीले सोमबार चार सदस्यीय मन्त्रिपरिषद् गठन गर्दै मुख्यमन्त्रीको शपथ लिएका छन् । उनको मन्त्रिपरिषद्मा एमालेबाट तिलकुमार मेन्याङ्बो, राप्रपाबाट भक्तिप्रसाद सिटौला र जसपाबाट निर्मला लिम्बू बिनाविभागीय मन्त्री नियुक्त भएका छन् ।

मधेस प्रदेश
मधेस प्रदेशमा बुधबार जसपाका सरोजकुमार यादव मुख्यमन्त्री नियुक्त भएका छन् । पहिलो आधा कार्यकाल जसपा र बाँकी कार्यकाल जनमत पार्टीले सरकारको नेतृत्व गर्ने सहमति सत्ता गठबन्धनमा भएको छ ।

वाग्मती प्रदेश
वाग्मती प्रदेशमा माओवादीका शालिकराम जम्कट्टेल सोमबार मुख्यमन्त्री नियुक्त भएका छन् । जम्कट्टेललाई माओवादीसहित एमाले, राप्रपा, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीले समर्थन गरेको छ ।

गण्डकी प्रदेश
गण्डकी प्रदेशमा एमालेका खगराज अधिकारी सोमबार मुख्यमन्त्री नियुक्त भएका छन् । उनले तीन जना बिनाविभागीय मन्त्रीसहित काम थालेका छन् । उनको मन्त्रिपरिषद्मा माओवादीबाट हरिबहादुर चुमान, एमालेबाट सीता सुन्दास र राप्रपाबाट पन्तराम गुरुङले बिनाविभागीय मन्त्री चयन भएका हुन ।

लुम्बिनी प्रदेशमा
लुम्बिनी प्रदेशमा एमालेका लीला गिरी मुख्यमन्त्री नियुक्त भएका छन् । उनलाई माओवादी, राप्रपा, जसपा, जनमत, लोसपा, नागरिक उन्मुक्ति र ३ स्वतन्त्रसहित ५८ सांसदको समर्थन छ ।

कर्णाली प्रदेशमा
कर्णाली प्रदेशमा माओवादीका राजकुमार शर्मा मुख्यमन्त्री बनेका छन् । उनलाई एमाले, राप्रपा र एकीकृत समाजवादीको समर्थन छ ।

सुदूरपश्चिम प्रदेश
सुदूरपश्चिम प्रदेशमा एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावल मुख्यमन्त्रीमा नियुक्त भएका छन् । उनलेख माओवादी, नागरिक उन्मुक्ति र राप्रपाको समर्थन पाएका छन् । सुदूरपश्चिममा एमाले र माओवादीबीच आधा–आधा कार्यकाल सरकारको नेतृत्व गर्ने सहमति छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज