काठमाडौँ/ राष्ट्रपतिको निर्वाचन सन्दर्भमा आठ दलीय गठबन्धन बनेपछि राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै बाहिरिएपछि प्रधानमन्त्री पुष्पकमल दाहालले संसदमा पुनः विश्वासको मत लिनु पर्ने भएको छ । यस विषयमा छलफल गर्न प्रधानमन्त्री दाहालले आठ दलको बैठक बोलाएका छन् ।
राप्रपाले समर्थन फिर्ता लिएपछि अब ३० दिनभित्र प्रधानमन्त्री दाहालले विश्वासको मत लिनैपर्ने हुन्छ। संसदमा पुनः विश्वासको मत लिनु पर्ने विषयमा छलफलका लागि प्रधानमन्त्री दाहालले राष्ट्रपति निर्वाचनका लागि बनेको आठ दलीय गठबन्धनको बैठक बोलाएका हुन। बैठक अहिले साँझ ६ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुरु भएको छ ।
फागुन २५ मा राष्ट्रपतिको निर्वाचन मिति तोकिएको छ । प्रधानमन्त्री दाहालले राष्ट्रपतिको निर्वाचन अघि वा पछि विश्वासको मत लिने भन्ने विषयमा गठबन्धनमा रहेका दलहरुसँग छलफल गर्न बैठक बोलाएको एक नेताले बताए ।