काठमाडौँ/ नेकपा एमालेले पुष्पकमल दाहाल नेतृत्वको सरकारबाट बाहिरिने निर्णय गरेको छ। एमालेको आज सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
एमाले सचिवालय बैठकले सरकार छाड्ने र दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरे लगत्तै नेकपा एमालेका मन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर राजीनामा बुझाएका छन् ।
नेकपा एमालेबाट उपाध्यक्ष विष्णु पौडेल उपप्रधान तथा अर्थमन्त्री सहित ८ मन्त्री सहभागी थिए । पौडेल पुस ११ मा नियुक्त भएका थिए भने अन्य मन्त्रीहरुले माघ पहिलो साता शपथ लिएका थिए ।
पार्टी मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष पौडेलले प्रधानमन्त्री दाहालले नेकपा एमाले र एमालेले प्रतिनिधित्व गरेका मन्त्रीहरूप्रति गरेको व्यवहार र टिप्पणीका कारण आफूहरू सरकारबाट बाहिरिन बाध्य भएको बताएका थिए ।