काठमाडौं/ राष्ट्रपति निर्वाचनको पूर्व सन्ध्यामा ९ दलले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै संविधानको रक्षा गर्दै देशमा दिगो शान्ति, सुशासन, विकास र समृद्धिसम्म पुग्ने विषयमा आफूहरु स्पष्ट र एकतावद्ध रहेको बताएका छन् । आइतबार साँझ बसेको सत्तारुढ नौ दलको गठबन्धनको बैठक पछि विज्ञप्ति जारी गर्दै यस्तो धारणा सार्वजनिक गरेका हुन् ।
नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसहितका ९ दलले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संसद्मा पेस गर्ने निर्णय समेत गरेका छन् ।
शान्ति प्रक्रियाका बाँकी कामलाई विस्तृत शान्ति–सम्झौता र संविधानको भावना अनुरुप तार्किक निष्कर्षमा पुर्याउन प्रतिबद्ध रहेको बताउँदै नौ दलको संयुक्त विज्ञप्तिमा भनिएको छ, द्वन्द्वकालीन घटनाबाट पीडित नागरिक एवम् उनका परिवारलाई न्याय दिन आवश्यक विधेयक सम्मानित सर्वोच्च अदालतको फैसला बमोजिम कानुन बन्नेगरी संसद्को यसै अधिवेशनमा प्रस्तुत गरिनेछ ।
पछिल्लो समय गणतन्त्रको मर्म एवम् भावना विपरीत क्रियाकलापहरु भइरहेको भन्दै सत्ता साझेदार दलले आपत्ति जनाएका छन् । विज्ञप्तिमा भनिएको छ, ‘संविधानले नचिनेका र नदेखेका तथाकथित पदका नाममा गरिने संविधान विपरीतका गतिविधि र तिनलाई सहयोग गर्ने क्रियाकलापहरु लोकतन्त्र विरोधी अवान्छित हुन् भन्ने विषयमा हामी एकमत छौँ । संविधान र लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि एकजुट भइ अगाडि बढ्ने दृढता व्यक्त गर्दछौँ ।