प्रधानमन्त्री दाहालविरुद्ध सर्वोच्चमा रिट दर्ता

काठमाडौँ / द्वन्द्वकालीन मुद्दालाई विषय बनाएर प्रधानमन्त्री पुष्पकमल दाहालविरुद्ध सर्वोच्च अदालतमा मंगलबार रिट दर्ता भएको छ ।

अधिवक्ता ज्ञानेन्द्रराज आरण र कल्याण बुढाथोकीसहितका व्यक्तिहरूले दाहालविरुद्ध मंगलबार सर्वोच्च प्रशासनमा २ वटा रिटदर्ता गराएका हुन् । रिटमा द्वन्द्वकालमा मृत्यु भएका र बेपत्ता पारिएका व्यक्ति र बुढोथोकीको रिटमा अंगभंग, सम्पत्ति कब्जा र लुटपाटलाई मुद्दा बनाइएको छ ।

गएको कात्तिक १४ मा सर्वोच्च अदालतमा उनीहरुले दिएको निवेदन कात्तिक २४ मा सर्वोच्च प्रशासनले दरपीठ गरेको थियो । दरपीठ भएको रिट निवेदन शुक्रबार न्यायाधीशहरू इश्वरप्रसाद खतिवडा र हरि फुयालको इजलासमा पेस भएको थियो । उक्त इजलासले रिट दरपीठको आदेश खारेज गर्दै सर्वोच्च अदालत प्रशासनलाई दर्ता गर्न आदेश दिएको थियो ।

दाहालले ०७६ को माघीका अवसरमा काठमाडौंको खुलामञ्चमा आयोजित सभालाई सम्बोधन गर्दै द्वन्द्वका क्रममा मारिएका १७ हजारमध्ये आफूले ५ हजारको जिम्मा लिनसक्ने बताएका थिए । सोही अभिव्यक्तिलाई आधार बनाएर सर्वोच्चमा मुद्दा दर्ता भएको हो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज